आइतबार, आश्विन १८ गते २०८३

कक्षा १२ को परीक्षा नसर्ने, निजामति कर्मचारी खटाएर भएपनि सञ्चालन गरिने


बैशाख ९, २०८२ मंगलबार
कक्षा १२ को परीक्षा नसर्ने, निजामति कर्मचारी खटाएर भएपनि सञ्चालन गरिने

 

राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा हुने जनाएको छ । मङ्गलबार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो।

जारी आन्दोलनका कारण विद्यालय शिक्षकहरूले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योल भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । 

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकिसकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुरोध गर्ने निर्णय भएको जनाउँदै साढे पाँच लाख विद्यार्थीको परीक्षा रहेकाले सबैलाई गम्भीर बन्न र समयमै परीक्षा सम्पन्न गर्न उनले अनुरोध गरे । 

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने र विद्यार्थीको समय खेर जाने भएपछि परीक्षा नरोक्ने तर प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ ।

बैठकले आन्दोलनरत शिक्षकलाई बैशाख ११ गतेदेखि हुने परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ ।