नबिल बैंकले मुनाफा ५ अर्ब नाघेको छ। चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमास(चैत्र मसान्त)सम्म बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ । तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेकोले बैंकको नाफा बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७.३८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा ३ खर्ब ७३ अर्ब ५७ करोड ४२ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जा मात्रै २७ अर्ब ५९ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि ८.६६ प्रतिशत अर्थात् ४० अर्बले बढेर ५ खर्ब २ अर्ब ११ करोड पुगेको छ।
बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.६८ प्रतिशत रहेको छ ।
नेपालपत्र संवाददाता