नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङ्गमा ५ रुपैयाँ दरको नोट वैशाख २ गतेदेखि प्रचलनमा ल्याउने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार नम्बर न ४५ ०००००१ देखि भ १८ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ’’ भन्ने प्रतिज्ञामूलक वाक्यांश भएका नोट प्रचलनमा ल्याउने भएको हो ।
नोटको अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “बि.सं. २०८१“ लेखिएको हुनेछ ।
यस्तै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक’’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रूपीज फाइभ लेखिएको र बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा “२०२४एडी’’ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता