(शार्दूलविक्रीडित)
---------------------------------------------
चिन्तामुक्त विषादमुक्त दुनियाँ भेटोस् नयाँ वर्षले
कुण्ठा द्वेष विवाद दु:ख झगडा मेटोस् नयाँ वर्षले
नौलो चेत नवीन कौशल कला आऊन् नयाँ सिर्जना
मान्छेभित्र उठून् दया र करुणा सद्भाव मैत्रीपना।१।
छाडी देश विदेश जानु नपरोस् उद्योगधन्दा खुलून्
माटोमा फलफूल अन्न रसिला चम्पा चमेली फुलून्
सत्ता भ्रष्ट विवेकहीन नबनोस् मान्छे नमारोस् अब
कौडीमा नबिकाेस् विरासतसँगै यो देशको वैभव ।२।
फिर्छन् साल नयाँ बनी समयको बोकेर नौलो गति
मान्छेको पनि चेत चिन्तन फिरे गर्छन् नयाँ उन्नति
छाडिन्छन् युगबोध गर्न नसके गन्तव्य हुन्छन् पर
हुन्छन् लक्षित कार्यसिद्ध युगका अभ्यासमा निर्भर ।३।
यो क्यालेन्डर मात्र होइन नयाँ हो यो चुनौती पनि
घुम्छन् मानवका अनेक सपना दायाँ र बायाँ बनी
पुग्छन् ती अभिलक्षमा सँगसँगै पक्रेर जो हिँड्दछन्
बाधा अड्चन चिर्न जो दिनदिनै तल्लीन भै भिड्दछन्।४।
रोगी मर्दछ रेल छुट्दछ कतै बेला बिताएपछि
पक्री औसर चढ्नुपर्छ चुचुरा चड्छौँ चिताएपछि
हो यो जीवन नै कठोर तपको सङ्घर्ष उत्कर्षको
जो छन् कर्मठ कर्ममा सफलता पाऊन् नयाँ वर्षको ५।
चुरेघाँटी, इलाम
इन्द्र नारायण सुवेदी