आइतबार, आश्विन १८ गते २०८३

फागुन महिनामा भित्रियो डेढ अर्बमाथि विप्रेषण, ९.४ प्रतिशतकाे वृद्धि


चैत्र २८, २०८१ बिहीबार
फागुन महिनामा भित्रियो डेढ अर्बमाथि विप्रेषण, ९.४ प्रतिशतकाे वृद्धि

 

मुलुकमा भित्रने रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । २०८१ फागुन महिनामा नेपाल भित्रिने रेमिट्यान्सले रेकर्ड राखेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ विप्रेषण आएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक २०८१/८२ को पहिलो आठ महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार कुल विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भएको छ । आठ महिनाको अवधिमा १० खर्ब ५१ अर्ब ७७ करोड विप्रेषण मुलुक भित्रिएको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । 

गएको आठ महिनामा ३ लाख १७ हजार ६८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २ लाख १७ हजार ४ सय ३ ले पुनः श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । गत वर्षको सोही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ८२ हजार ७ सय ८३ ले पुनः श्रम स्वीकृति लिएका थिए ।

रेमिट्यान्स बढेसँगै चालु आर्थिक वर्षको आठ महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिएको छ । गत असारको तुलनामा यो १८ प्रतिशतको वृद्धि हो । गत फागुनसम्म कुल विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ नाघेको राष्ट्र बैंकले जनाएको छ ।