(मन्दाक्रान्त्ता)
नेताजीका महल ठडिए चम्कियो राजधानी
फिर्दै आए दिन पनि नयाँ उर्लिएझैँ जवानी
च्याँसे लुम्रा सबल बनिए चिल्लिए फेरि गाला
छैनन् पीडा सकस तिनको फेरिएको छ चाला ।१।
छैनन् पेसा इलम रुपियाँ आर्जिने छैन बाटो
छाडे बस्ती अलिअलि हुने बाँझिएको छ माटो
बन्छन् अग्ला महल महँगा किन्दछन् रेल गाडी
पैसा फल्ने रुख छ कि कतै के छ धन्दा पछाडि।२।
घुम्थे नाङ्गै अघि घरघरै भै ठुला क्रान्तिकारी
चल्छन् धेरैतिर गहकिला आज सत्ता सवारी
के हो यस्तो चटक तिनको सान बेग्लै छ आज
उस्तै छन् ती अघि सरहका गाउँ बस्ती समज ।३।
बाँड्दै कैयौँ सुखद सपना भित्रभित्रै चपाई
निष्ठा राख्ने युवक घरका देशबाटै धपाई
चल्छन् सत्ता उपर परकै छन् पराधीन यन्त्र
हत्या हिंसा कचिङल सधैँ हो कि के लोकतन्त्र ।४।
बोल्छन् साना मुख जब त्यहीँ थुन्छ आएर गोली
खेपी पीडा कति दिन सहून् एक शब्दै नबोली
कस्ता आए दिन पनि यता हो प्रजातन्त्र कस्तो
रुक्खासुक्खा अति विरसिलो चैतको धूप जस्तो ।५।
इन्द्र नारायण सुवेदी