लाेकनारायण सुबेदी
अहिले हरेक बर्ष अग्रेजी महिनाको अप्रिलको १ तारिखका दिन ‘मूर्ख दिवस’ अर्थात ‘मूर्ख दिवस’मनाउने गरिन्छ । यो परम्परा कहिले र कसरी शुरु भयो भन्ने कुरालाई लिएर बेग्ला बेग्लै धारणा पाइन्छ । तर सामान्यरुपमा के मानिन्छ भने ‘अप्रिल फूल’को चलन १६औ शताब्दीमा फ्रान्सबाट शुरु भएको हो । भनिन्छ कि १५६४ मा फ्रान्समा राजा चाल्र्सले आफ्नो देशमा ग्रगोरियन क्यालेण्डरको चलन चलाएका थिए जसमा पहिलो नयाँ बर्ष १ अप्रिलका दिन मनाइने गरिन्थ्यो । तर जब त्यो क्यालेण्डर बद्लियो १ जनवरीका दिन नब बर्षकोरुपमा मनाइने निर्णय लिइयो त्यतिबेला कतिपय मानिसहरु पुरानै परम्परासँग टासिएर रहने गरेर र पुरानै अप्रिल १ लाई नै नयाँ बर्ष उत्सवको रुपमा मनाइरहे । जनवरी १ देखि नया पात्रो परिबर्तनलाई अबलम्बन नगर्ने ती मानिसहरुलाई हँस्सी ठट्टामा उडाउन थालियो र तिनलाई ‘अप्रिल फुल’ अर्थात मूर्ख भनेर चिढ्याउन थालियो । बिस्तारै बिस्तारै यो हस्सि ठट्टा गर्ने परम्परा एउटा बार्षिक आयोजनाकोरुपमा बिकसित भयो । जसलाई ‘मूर्ख दिवस’ अर्थात् ‘अप्रिल फूल’ भनिन थालियो ।
अन्य कतिपय मानिसहरु के मान्दछन् भने अप्रिल फूलको सम्वन्ध बसन्त ऋतुको आगमनसँग पनि छ । प्रकृति यस मौसममा अनिश्चितरुपमा अडकल गर्न नसकिने गरी बद्लिने गर्दछ । कति बेला चर्को गर्मी हुन्छ भने कति झर्र पानी पर्दछ । त्यस्तो स्थितिमा मौसले मानिसलाई कति बेला मूर्ख बनाउने हो ठेगान नहुने स्थिति बन्दछ । कतिपय बिद्वानहरु के मान्दछन् भने मूर्ख दिवसका जरा प्रकृतिलाई बिभिन्न किसिमले पूजा गर्ने ‘पगान’ उत्सबहरुमा पनि लुकेछिपेको हुन सक्छ । जतिबेला मौसमी परिबर्तनका समयमा बिभिन्न किसिमका अचम्म अचम्मका आयोजनाहरु गरिने गरिन्थ्यो । यूरोपका कतिपय देशहरुमा त्यस चाड पर्वहरुको प्रचलन थियो ।जहा मानिसहरुले एक अर्कालाई ख्याल ठट्टामा उडाउने र अचम्म अचम्मका हर्कत गर्ने गर्दथे ।
इटालीमा चल्दै आएको एउटा प्राचीन परम्परा अनुसार १ अप्रिलका दिन त्यहाँ एउटा बिशेष मनोरञ्जनकारी उत्सब मनाइने गरिन्थ्यो ।त्यस दिन स्त्री पुरुष सबै सामाजिक बन्धनबाट मुक्त भएर मज्जाले नाच्ने गाउने गर्दथे, मस्तले मदिरा पिउने गर्दथे र हुलदंगा मच्चाउने गर्दथे । त्यो दिन वास्तवमा मोजमस्ती र उल्लास भरिएको दिन हुन्थ्यो । मध्यकालीन यूरोपमा पनि यस दिनलाई लिएर कतिपय रोचक प्रथाहरु देखिका छन् । स्कटल्याण्डमा यसलाई ‘अप्रिल गोक’ भन्ने गरिन्थ्यो जहाँ मानिसहरुले एक अर्कालाई मूर्ख बनाउनका लागि झूटो हल्ला फैलाउने गर्दथे र अचम्म अचम्मका गतिबिधिहरु गर्ने गर्दथे । यूनान(ग्रीस)मा अप्रिल फूलसँग जोडिएका चाखलाग्दो कथा रहेको पाइन्छ । भनिन्छ कि त्यहाँ एकजना ब्यक्तिलाई आफ्नो बुद्धिमा ठूलो घमण्ड थियो र उसले आफुलाई अत्यन्तै चतुर ठान्दथ्यो । उसका साथीहरुले उसलाई पाठ सिकाउनका निमित्त के हल्ला फिँजाइदिए भने एक निश्चित राती देबता पहाडको चुचुरोमा प्रकट हुने छन् र त्यो बुद्धिमान ठान्ने मानिस पनि त्यहाँ हुने छ र उसले देबताबाट मनले चाहेको बरदान पाउने छ । त्यो ब्यक्ति त्यस हल्लामा बिश्वास गरेर बस्यो । अनि पूरै रात त्यहाँ देवतको प्रतिक्षा गरिरह्यो । तर जब कुनै देवता आएनन् अनि त ऊ निराश भएर घर फर्कियो । उसका साथीहरुले त्यसलाई ठट्टामा उडाउन थाले । भनिन्छ कि त्यसै बेलादेखि यूनानमा अप्रिल फूल मनाउने प्रचलन शुरु भयो । अग्रेजी परम्परामा पनि अप्रिल फलको उल्लेख पाइन्छ । इङ्गल्याण्डमा यस दिनलाई लिएर कतिपय अनौठा कथाहरु प्रचलित छन् । भन्ने गरिन्छ कि १८औं शताब्दीमा यो प्रथा तीब्र गतिले फैलियो र सर्ब साधारण मानिसमा लोकप्रिय हुन पुग्यो । यस मानिसल एक आपसमा झूटा सन्देश पठाउने गर्थे र नक्कली हल्ला फैलाउने गर्थे । बिस्तारै बिस्तारे यो प्रथा अन्य देशमा पनि फैलियो । अनि हरेका ठाउमा यसलाई आ–आफ्नो अनौठो तरीकाले मनाउन थालियो । १९औ र २०औ शताब्दीमा यो परम्परा अझ बिकसित हुन पुग्यो । त्यस क्रममा समाचारपत्र, रेडियो, र पछिबाट टेलिभिजन समेतमा पनि यस परम्परालाई बढावा दिइयो । समय सँगसँगै यो अप्रिल फुल उत्सब संसार भरी नै बेग्ला बेग्लै किसिमले मनाउन थालियो । पहिला पहिला त यो उत्सब केवल अग्रेजले मात्र मनाउने गर्दथे र यो शहरी क्षेत्रहरुमा मात्र सीमित रहेको पाइन्थ्यो । अब साना ठूला बजार ग्रामीण क्षेत्रमा पनि यसलाई बढावा मिलेको देखिन्छ ।
अहिले त कतिपय चलचित्र र धाराबाहिकहरुमा पनि अप्रिल फूलसँग जोडिएका घटनाहरुलाई हास्यपूर्ण ढंगले प्रदर्शन गर्ने गरिएको पाइन्छ । आजको डिजिटल युगमा यस परम्पराले अर्को एक नयाँ रुप लिन थालेको छ । सामाजिक सञ्चार माध्यमहरुको आगमनकासाथ अप्रिल फुल अब केवल ब्यक्तिगत स्तरको ख्याल ठट्टाको बिषय मात्र बनेर सीति रहेन यो त अन लाइन प्लेटफर्मको समेत बिषय बनिसकेको देखिन्छ । मानिसहरुले झूटो तर मज्जाको खबर फैलाएर आफ्ना साथीभाइ र नातेदारहरुलाई मूर्ख बनाउने कोशिश गर्ने गरेका छन् । कतिपय बेलामा ठूल्ठूला कम्पनी र ब्राण्डहरुले पनि यस अबसरको उपयोग गरेर आफ्नो सामाग्रीहरुको प्रचार र बिज्ञापन गर्न थालेका छन् ।
यस दिनले अब केवल ख्याल ठट्टाको कुरा मात्रै होइन, जीवनलाई गम्भीर जटील किसिमले होइन हल्काफुल्का किसिमले लिनु पर्ने शिक्षा दिएको पनि मानिन थालेको छ । अब यसबाट जीवनलाई सामान्य र सरलरुपमा लिएर हरेक परिस्थितिमा हास्दै मुस्कुराउदै काम गर्नु पर्दछ भन्ने पाठ पनि लिनु पर्ने र हासखेलबाट मानसिक र शारिरीक स्थितिलाई हल्का तुल्याइनु पर्ने र परस्पर सम्वन्धलाई सुमधुर बनाउन पर्ने पनि भन्न थालिएको । आजको समयको मानिसको जीवन तनाब र दौडादौडले भरिएको र बितिरहेको हुन्छ । यस्तो स्थितिबाट मोडेर मानिसहरुको मानसिक र शारिरीक तनावको अबस्थालाई अर्कोतिर मोडेर अप्रिल फूल जस्ता उत्सबहरुले तनाब कम गरेर मानिसको अनुहारमा मुस्कान ल्याउन र हसाउन सक्यो भने यो निकै सकारात्मक र जीवनोपयोगी कुरा हुन जान्छ । ‘मूर्ख दिवस’को यसरी सही सदुपयोग हुन सक्यो भने राम्रै हो । तर गम्भीर र अप्रिय ठट्टा गरेर मानिसहरूका बीच थप झैझगडा र बैमनस्यता सिर्जना गर्ने र द्वेष राग बढाउने दुष्कृत्यमा यस्ता दिनकाे दुरूपयाेग हुन सक्ने खतराबाट भने बच्नु पर्दछ ।