नेपालको उर्जा क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलन ९भारत९नेपाल ऊर्जा सम्मेलन० को अवसरमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्य्युत उत्पादनको सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका हुन् ।
नेपाल सरकारले हालै मात्र सन २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए । नेपाली अहिले कुल जडित विद्य्युत क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको समेत उनले जानकारी गराए ।
नेपाल र भारतबीच हाल एक हजार मेगावाट विद्युत आदान प्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौं मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए ।
नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाट भन्दा बढी रहेकोले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य हुन सक्ने उनले सुझाव दिए ।
इप्पान उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३ हजार ५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको, ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने हुँदा ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे । अहिले विद्युत उत्पादनका लागि उपयुक्त नीति रहेको, नेपाल र भारतबीच ४०० केभीको एएटा प्रसारणलाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधिन रहेकोले विद्युत उत्पादन र आदान प्रदानका लागि पर्याप्त पूर्वाधार तयार रहेको उनले बताए ।
’जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ भन्ने नारा सहित नेपाली राजदूतावास भारत र आईएफजीईको आयोजना तथा इप्पानको संस्थागत सहभागीतामा उक्त सम्मेलन सम्पन्न भएको छ ।
नेपालपत्र संवाददाता