नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले राजिनामा दिएसँगै हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) रहेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले का मु सीईओमा नियुक्त गरेको हो ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर नबिल बैंकमा डीजीएममा नियुक्त भएर काम सुरु गरेका ज्ञवाली चार वर्षको बीचमा नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका हुन् ।
उनी गत पुसमा मात्रै बैंकको सिनियर डेपुटी सीईओमा बढुवा भएका थिए । सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका ज्ञवाली एक क्षमतावान र प्रष्ट वक्ताको रूपमा पनि परिचित छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको समेत अनुभव रहेको छ ।
नेपालपत्र संवाददाता