काठमाण्डाै । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार मन्त्रिपरिषद्को बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उच्चस्तरीय भेटवार्ता भएको थियो । भेटवार्तापछि घिसिङलाई हटाउने निर्णय भएको हो ।
घिसिङलाई बर्खास्त गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ । आम नागरिक, विभिन्न विधा र क्षेत्रका मानिस लगायत राज्यमन्त्री, सत्तारुढ घटक नेपाली काँग्रेस कै कतिपय पदाधिकारीले सरकारले गलत निर्णय लिएको भनाइ राखेका छन् । राजधानीका कतिपय स्थानमा सरकारविरुद्ध प्रदर्शनहरु भएका छन् भने विद्युत प्राधिकरणको मुख्यालय रत्नपार्क वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
नेपालपत्र संवाददाता