सन्दर्भ बिश्व पानी दिवस
निकै बर्ष अघि संयुक्त राष्ट्र संघद्वारा जारी गरिएको बिश्व जल प्रतिबेदनमा बढ्दो जल संकटका बिषयमा निकै गम्भीर चिन्ता जाहेर गरिएको थियो । त्यसमा भनिए अनुसार कृषिको बढ्दो जल आवश्यकता, खाद्यान्न उत्पादन, ऊर्जा उपभोग, प्रदुषण तथा जल ब्यवस्थापनमा देखा परेका कमजोरीहरु अदिका कारणले स्वच्छ पिउने पानीमाथि अत्याधिक दबाव बढिरहेको बताइएको थियो । त्यो प्रतिबेदनले उल्लेख गरे अनुसार बिश्वका कतिपय देशहरुमा जल संकट तीब्ररुपमा बढिरहेको छ र ती देशले गम्भीर पानी संकटको सामना गरिरहेका छन् । यस्तो स्थितिमा पानीको बर्वादीलाई रोकिएन भने यो समस्याले बिश्वमा भयंकर ठूलो बिकराल रुप लिने खतरा टड्कारो छ ।
कयौं देशले भू–जल स्तर घट्न जाँदा पानीको ठूलो संकट भोग्नु परिरहेको कुरा समेत प्रकाशमा आइरहेका छन् । भनिन्छ, आज पनि बिश्वमा उपलब्ध कूल जलको मात्रा त्यत्ति नै छ जति दुइ हजार बर्षपहिला थियो । अन्तर कति मात्र छ भने त्यतिबेला जनसंख्या आजको तुलनामा केवल तीन प्रतिशत थियो । आजभन्दा ७८ बर्ष अघि १९४७ मा प्रति ब्यत्ति सुरक्षित पिउने पानी ६ हजार घन मिटर प्रतिब्यक्ति उपलब्ध थियो ।त्यो घटेर २००० सालसम्ममा आइपुग्दा केवल २३०० घन मिटर मात्र रहन गयो । याे अहिले २०२५ सम्ममा पुग्दा यो अझ घटेर १६०० घन मिटर प्रतिब्यक्ति पुग्नजाने देखिएको प्रतिबेदनमा उल्लेख थियाे ।
अन्तराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाको अनुमानका अनुसार आउदो बीस बषर्मा हाम्रो छिमेकी देश भारतमा पानीको माग ५० प्रतिशतले बढ्ने छ । भारतमा अहिले उपलब्ध जलमध्ये ९० प्रतिशत उपयोग कृषि उत्पादनमा गर्ने गरिन्छ । जसमा खाद्य उत्पादनको अनुपात मात्रै कुरा गर्ने हो भने त्यो ३५ प्रतिशत रहेको छ । यदि कृषि उत्पादनमा समुचित जल निकास तथा जल उपयोगको बैज्ञानिक उपाय अबलम्बन गरियो भने पनि त्यसबाट केवल २० प्रतिशतसम्म मात्र जलको बचत हुन सक्तछ । बिज्ञान र प्रबिधिको निक्कै प्रगति गरेको भए पनि अहिलेको बढ्दो जल संकटबाट मुक्त हुनका लागि पुराना जल उपयोगका उपायहरुलाई पनि प्रयुक्त गर्नुपर्ने देखिन्छ । त्यो तरीकामध्ये एउटा प्रमुख उपाय भनेको घरको छानाबाट खस्ने बर्षाको पानी संकलन गर्ने उपाय हो । सामान्यतः सय बर्गको मिटर आकारको छानाबाट ६,५००० लिटर बर्षाको पानी एकत्र गर्न सकिने देखाएको छ । जसबाट चार सदस्य भएको एउटा परिवारका लागि पिउने पानी र अन्य घरेलु आवश्यकता पूर्ति गर्नका लागि कम्तिमा १६० दिनसम्म पुग्नसक्छ ।

नेपाल जस्तो जलश्रोतको धनी देशले पनि राजधानीमा नै जुन पिउने पानीको संकट बर्षौंदेखि बहोरिइरहेको छ त्यो समस्या समाधान गर्न बर्षाको पानी एकत्र गर्ने उपाय गर्न गराउन सकेमा कम्तिमा दुइ दशकभन्दा बढी समय लागेको मेलम्ची पानी परियोजना सम्पन्न भएर(भर्खरै अब चाँही चाडै हुने भनेर पानी मन्त्रीले पत्रकार सम्मेलन पनि गरिसकेकी छन्) पानी बितरण नहुञ्जेलसम्म त काम दिन्थ्यो कि ? सरकारले जनताले बर्षाको पानी जम्मा (रेन वाटर हार्भेस्टिङ्ग)गर्ने यो उपायको अबलम्बन गर्न आवश्यक सुबिधा प्रदान गर्न सके उपत्यकाको पानी संकट नै टार्न सकिन्छ भन्ने प्रतिबेदन पनि धेरै बर्ष पहिला आइसकेको हो । त्यस्तो एउटा प्रतिबेदन अनुसार काठमाण्डौ उपत्यकामा ६०० बर्ग किलोमिटर जलाधार रहेको छ । यसले बार्षिक १, १०० मिलिमिटर बर्षा गराउन सहयोग पुग्छ ।
बागमती नदी कुनै हिमाच्छादित नदीहरुको श्रोतबाट आएको पनि होइन् । त्यसो भए तापनि सरदर ३३० मिलियन घन मिटर पानी यहाँ उपलब्ध हुन सक्ने स्थिति रहेको बिज्ञहरुले बताएका छन् । त्यसैले उपलब्ध हुन सक्ने बर्षाकोझरीको पानीको केवल ६ प्रतिशतलाई मात्र उपयोगमा ल्याउन सकिए पनि काठमाण्डौ उपत्यकाबासीहरुलाई छेलोखेलो पानी पुग्ने बताइएको थियो । मेलम्चीको मात्र भर नपरेर बर्षाको पानी जम्मा गर्ने बिधि अपनाउन सके आगामी दिनमा पानीको संकटको थप अनुभव गर्नु पर्ने थिएन कि ! बेलैमा सोचौ !