शुक्रबार, कार्तिक ७ गते २०८३

बिश्वमा कोभिड–१९ खोपको राजनीति बढ्दो

कार्तिक ४, २०७८ बिहीबार
बिश्वमा कोभिड–१९ खोपको राजनीति बढ्दो

Gibl_logo-1.png
—लोकनारायण सुबेदी

बिश्वमा कोभिड–१९े महामारी फैलिन शुरु गरेदेखि नै यसका बिरुद्धको खोपको बारेमा पनि समाचारहरु प्रकाशमा आउन थालेका थिए र त्यसले मानिसहरुलाई आशा जगाएको थियो । यो बिज्ञान र प्रबिधिप्रतिको बिश्वास पनि थियो र खोपको खोजी र बिकास हुने कुराप्रति पनि बिश्वास रहेको थियो । तर पहिलो खोपले स्वीकृति पाउनुभन्दा पहिलादेखि नै बिश्वमा कथित ‘खोप राष्ट्रबाद’को पनि बिकास हुनथाल्यो । यस सन्दर्भमा कतिपय बिश्वका सम्पन्न देशहरुले आफ्ना देशका नागरिकहरुका लागि आफ्नो जनसंख्याभन्दा पाँच गुणा बढीसम्म खोपको भण्डारणमा जुट्न थालेको पनि देखियो र सुनियो ।
 संयोग र सकारात्मक कुरा के मान्नु पर्दछ भने बिश्वका बिभिन्न देशका बैज्ञानिकहरुको अथक र निरन्तरको प्रयासले कयौ देशहरुमा कोरोना बिरुद्धको खोपको खोज सफल भयो । आज त्यसको आपत्कालीन प्रयोगका लागि अनुमति पनि  दिइसकेको र खोप लगाउने काम धमाधम चलिरहेको छ । कोरोना महामारी फैलिएको २० महिना यता बिश्वमा ६अर्ब ८० करोड भन्दा बढी खोप लगाउने काम पनि सकिएको छ । तर यो सम्पूर्ण खोपको ८० प्रतिशत खोप बिश्वका उच्च र उच्च मध्यम आमदानी गर्ने देशहरुमा लगाइएको छ । न्यून आय बर्गका देशहरुको खातामा खोपको बहुतै कम मात्रा मात्र आइपुगेको छ । यद्यपि खोपको उपलब्धता हरेक देशहरुमा समानरुपले पुग्नु आधारभूत आवश्यकताको कुरा हो भनिन्छ । 
 अबस्था कस्तो छ भने सम्पन्न देशहरुको ८० प्रतिशत जनसंख्यालाई दुबै मात्रा(डोज) खोप लगाइसकेको छ र अब त्यहाँ तेश्रो र चौथो मात्राका बारेमा छलफल चलिरहेको छ । जब कि कतिपय बिपन्न देशहरुमा भने मुस्किलले १० प्रतिशत मानिसलाई मात्र खोपको पहिलो मात्रा लगाउन सकिएको  छ । बास्तवमा यो ‘खोप असमानता’को  एउटा ज्वलन्त उदाहरण हो । बितेका केही महिनामा यता बिकसित यो ‘खोप राष्ट्रबाद’ या ‘खोप असमानता’ले के दर्शाउँदछ भने सम्पन्न देशहरु र बैज्ञानिक समुदायले एक अर्काको मद्दतको जतिसुकै कुरा गरुन् यथार्थ धरातलमा ती सबै प्रतिबद्धता र बाचाहरु खोक्रो साबित हुन या ठहरिन पुग्दछन् ।
 बेलायतद्वारा जारी गरिएको नयाँ यात्रा र टिकाकरण सम्बन्धि दिशा–निर्देशन यस्तै कडीमध्येको एउटा कुरा हो । त्यस निर्देशन अनुसार ४ अक्टोबर पछि कतिपय देशका नागरिकहरुलाई, जसले आफ्नोमा पूर्ण खोप पनि लगाइसकेका होलान्, बेलायती सरकारले मान्यता दिनेछैन र बेलायत पुग्ने जो कसैले पनि दश दिनसम्म एकान्तबासमा रहनुपर्ने छ । साथै तिनीहरुले नियमितरुपमा आरटी–पीसीआर परीक्षण पनि गर्नु पर्नेछ । यस प्रकृयामा ती मानिसहरुलाई पनि सामेल गरिएको छ जसलाई भारतमा बनेको खोप कोभिसिल्ड दिइएको छ । यसमा बिबाद खडा भए पछि भलै पछि बेलायतले कोभिसिल्डलाई मान्यता दिएकोछ, तर त्यो खोप लिएका मानिसहरुलाई बेलायतमा बिना खोपकै दर्जा सरह मानिने छ र उनीहरुमाथि अनेक प्रतिबन्धहरु लगाइने छ जुन प्रतिबन्धहरु खोप नलिएका मानिसहरुलाई लगाइने गरेको  छ। स्मरणीय छ कि भारतमा बनेको कोभिसिल्ड खोप र बेलायतमा लगाइने अक्फोर्ड एस्ट्राजेन खोप बैज्ञानिकरुपले समान छन्, केवल तिनको निर्माण स्थलमा अन्तर छ । बेलायतको यो कदम गल्तिहरुका ती श्रृंखलाकै निरन्तरको कदम हो जुन सम्पन्न बिश्व समुदायले कोभिड–१९ टिकाकरणका सन्दर्भमा लगातार गर्दै आइरहेको  छ । होइन भने यी कुरालाई कसरी बुझाउन सकिन्छ कि जुन खोप बेलायतले आफुकहाँ लगाइरहेको छ, त्यही खोप अन्य देशका नागरिकले लगाएर बृटेनमा आउन चाहन्छन् भने उनीहरुमाथि प्रतिबन्ध कसरी हुन्छ ? बेलायतले अफ्रिकी देश केन्यालाई त्यहाँ बनेको अक्सफोर्ड एस्ट्राजेनेका खोप पठायो तर केन्याका नागरिहरुले जसले त्यो खोप लगाए ती पनि बेलायत आउन चाहन्छन् भने बेलायत सरकारले तिनलाई पनि मान्यता दिन इन्कार गर्दछ । कतिपय देशहरुले बेलायतको यो खोप नीतिलाई ‘खोप भेदभावपूर्ण’ नीति भनेर पनि आलोचना गरेका छन् । भारतले पनि यो नीतिको बिरोध गरिरहेको देखिन्छ । त्यसको प्रत्युत्तरमा बृटिश सरकारले पनि भारतको खोप प्रमाणपत्रका बारेमा प्रश्न खडा गरेको  छ । अबश्य पनि यस्ता बिबादहरुको हल निस्किने छ र शायद चाँडै निस्कने छ । तर यी घटना क्रमले के बताउँदछन् भने कोभिड महामारीसँग जुध्नलाई बिश्व समुदायले जुन गल्ति गर्दै आएको  छ त्यो चाँडोभन्दा चाँडो सुध्रिनु अत्यन्तै जरुरी छ ।

Vaccine.jpg
 अरु अरु समस्याहरु पनि यससँग जोडिएका छन् नै । ती सबैका बारेमा अहिलेको समयमा निश्चितरुपमा आत्ममन्थन अबश्य नै आबश्यक छ । यस सम्वन्धि कतिपय समस्याहरु सही तथ्यांक उपलब्ध हुन नसक्नु पनि हो । कोभिड खोपसँग सम्वन्धित कतिपय महत्वपूर्ण जानकारीहरु अहिलेसम्म सार्बजनिक गरिएका छैनन् । त्यसमा पनि कतिपय जानकारीहरु नीति निर्धारक र जनताले जान्नु अत्यावश्यक छ  । ती मध्येमा खोपबाट हुने सुरक्षाको बिषय सबैभन्दा ठूलो महत्वको बिषय छ । उदाहरणका लागि सबै कोभिड खोपहरुलाई आपतकालीन उपयोगको स्वीकृति प्राप्त भइसकेको छ । तर खोपहरु आम जन समुदायमा लगाइए पछि कतिपय नकारात्मक असर पनि देखिएका छन् । जसलाई ‘एडभर्स इभेण्ट फ्लोइङ्ग इम्युनाइजेशन’(एईएफआई) भनिदोरहेछ । यस प्रकारका तथ्यांकहरुबाट थाहा हुन्छ कि कोभिड–१९ का केही जटील असर हुन सक्छन् । जस्तो रगत जमेर गाँठा पर्ने आदि । यस प्रकारका असर सम्वन्धि अन्य प्रकृतिका असरहरुको तथ्यांक जुटाउन पनि कठिनै छ । सहजै जुटाउन र उपलब्ध गराउन सकिने स्थिति सुदृढ भएको भए यतिबेला बिश्व स्वास्थ्य संगठनसँग ती जम्मा भइसक्ने थिए र तिनको उपयोग के कसरी हुँदैछ भन्ने कुरा पनि थाहा हुन्थ्यो र धेरै खोपहरुलाई बिश्व स्वास्थ्य संगठनले धेरै पहिला नै स्वीकृति पनि दिइसक्ने थियो शायद ! यस्तो अबस्थामा एकातिर त को–भ्याक्सिनहरुलाई बिश्व स्वास्थ्य संगठनको मान्यता मिलेको छैन भने कोभिसिल्लड खोपहरु पनि कतिपय देशमा प्रतिबन्ध गरिएका छन् । यस्तो स्थिति धेरैदिनसम्म रहिरहेमा खोपलाई लिएर जनतामा जागेको उत्साह र आत्मबिश्वामा कमी आउने कुरा निश्चित छ । यस स्थितिबाट सम्बद्ध सबै देश बच्नु राम्रो हुन्छ । 
 यस परिप्रेक्षमा एकातिर कोभिड–१९ माहामारीमा ‘खोप राष्ट्रबाद’, ‘खोप भेदभाव’ र ‘खोप असमानता’ जस्ता कुराहरु ठूलो चूनौति बनिरहेका छन् भने कतिपय ठूला देशहरुले बिश्व समुदायलाई निराश पनि तुल्याइरहेका छन् । बास्तवमा आफ्नो खोपलाई सबैभन्दा राम्रो र अरु देशले उत्पादन गरेकालाई कमतर साबित गर्नु या गर्न खोज्नु कुनै राम्रो नीति बिल्कुलै होइन । कुनै पनि देशले यस्तो गलत प्रबृत्तिबाट बच्नु अत्याबश्यक छ । खोप उत्पादक देशहरुले खोपलाई बिश्वका लागि साझा तुल्याउन पनि उत्तिकै आवश्यक छ । यस्तो बिश्वब्यापी महामारीका बेला सम्बद्ध देशहरुले खोपलाई सबैको साझा तुल्याउदैनन् भने तिनले बिश्वको साझा भबिष्य निर्माण गर्न योगदान पुर्याउँदछन् भन्ने कुरामा कसरी बिश्वास र भरोसा गर्ने ? समय धेरै कम बाँकी रहेको छ र बिश्व समुदायसँग अझै पनि साझा सुझबुझकासाथ प्रस्तुत हुने केही अवसर बाकी छ र यसको भावी मानब पिढीले सकारात्मक र सार्थक मूल्यांकन गर्ने छ नै । यसमा चीनको अग्ररसरतालाई सकारात्मकरुपमा हेरिएको छ ।