आइतबार, आश्विन १८ गते २०८३

यथार्थपरक र अनुशासित बजेट ल्याउने अर्थमन्त्रीको भनाइ


फाल्गुण २२, २०८१ बिहीबार
यथार्थपरक र अनुशासित बजेट ल्याउने अर्थमन्त्रीको भनाइ

 

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा यथार्थपरक एवं अनुशासित बजेट ल्याउने बताएका छन् । यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उनले जनाएका छन् । 

बजेट निर्माणका लागि सुरु भएको मन्त्रालयगत छलफलका क्रममा बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ। छलफलका क्रममा अर्थमन्त्री पौडेल बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे ।

सङ्घ, प्रदेश र स्थानीय सरकार रहेकाले सङ्घीयता र सङ्घ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा उनको जोड छ । मन्त्रालय र विभिन्न निकायबिचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।    

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनालाई स्थगन गर्दै कार्यान्वयनयोग्य योजना मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । त्यसै गरी साना योजनालाई रोकी क्रमागत योजनाको सङ्ख्या घटाउन, पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश र बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरू प्रस्ताव गर्न पनि मन्त्री पौडेलको सुझाव छ । 

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मालगायत सहभागी रहेका थिए ।