कृषिप्रधान देश भन्ने गरिएपनि मुलुक खाद्यान्नमा परनिर्भर बन्दै गएको । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो सात महिनामा गत वर्षको सोही अवधिको तुलनामा दोब्बर धान आयात भएको छ । यस वर्ष १४ अर्ब ५९ करोड ८५ लाख ९१ हजार रुपियाँको धान आयात भएको छ । गत वर्ष सो अवधिमा सात अर्ब ४२ करोड ४६ लाख ४७ हजार रुपियाँको धान आयात भएको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो सात महिनामा गत वर्षको सोही अवधिको भन्दा आठ अर्ब रुपियाँ धेरैको अन्न आयात भएको छ । विभाग अनुसार यस वर्ष ३६ अर्ब ३५ करोड ७३ लाख २९ हजार रुपियाँको धान, चामल, मकै, गहुँ र कोदो आयात भएको छ । गत वर्ष सो अवधिमा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्दा खाद्यान्न आयातमा वृद्धि भएको हो ।
विभागका अनुसार यो अवधिमा १० अर्ब ७७ करोड ६६ लाख ४१ हजार रुपियाँको चामल आयात भएको छ । जबकि गत वर्ष सोही अवधिमा छ अर्ब ६८ करोड ४० लाख २६ हजार रुपियाँको आयात भएको थियो ।
यस्तै सात महिनामा १० अर्ब ७२ करोड ६६ लाख रुपियाँको मकै आयात भएको छ । गत वर्ष सो अवधिमा सात अर्ब ७२ करोड ४१ लाख ३१ हजार रुपियाँको मकै आयात भएको थियो। कुखुराको दानाका लागि ठुलो परिणाममा मकै आयात हुने गर्छ । यस वर्ष धानको उत्पादन बढे पनि खाद्यान्न आयातमा भने कमी हुन सकेको देखिँदैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकमा माग धान्न वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने गरेको छ । स्थानीय माग अनुसार धानको उत्पादन नहुँदा ठूलो परिणाममा धान आयात भएको छ ।
नेपालपत्र संवाददाता