शुक्रबार, कार्तिक ७ गते २०८३

अमेरिकाको ह्वाइट हाउसमा चलेको ट्रम्प-जेलेन्स्की चर्काचर्कीको अर्थ


फाल्गुण १८, २०८१ आइतबार
अमेरिकाको ह्वाइट हाउसमा चलेको ट्रम्प-जेलेन्स्की चर्काचर्कीको अर्थ

लोकनारायण सुबेदी

बिश्व महाशक्ति अमेरिकाको ह्वाइट हाउसमा चलेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनका राष्ट्रपति जेलेन्स्कीको बाक युद्ध अहिले बिश्वभरी नै चर्चाको बिषय बनिरहेको छ । यस बाक युद्धले अन्तराष्ट्रिय कूटनीतिक इतिहासमा एउटा अनौठो बिषयकोरुपमा दर्ता भएको छ । बिश्लेषकहरु भन्दछन् – बिश्वमा शायदै कहिल्यै यस्तो भएको होला कि जब एउटा बिश्वलाई प्रभाव पारिरहेको एउटा ठूलो युद्धलाई लिएर प्रमुख बिश्व नेताका बीच परस्परमा यस प्रकारको घमसान मच्चिएको होस् । उनीहरु भन्दैछन् कि ह्वाइट हाउसमा घटेको यो घटनाले जुन आगो लगाएको छ त्यो अब बिश्वभरी फैलिन पनि सक्छ । अध्यता र ज्ञाताहरु भन्दैछन्– यस आगोलाई निभाउन त्यति सजिलो पनि छैन । बिशेषगरी यस्तो समयमा कि जतिबेला युद्धको यस्तो आगो निभाउने भन्दा झोस्ने, फैलाउने र भड्काउने नेताहरुको संख्या बढी देखिन्छ ।«
भनिन्छ गएको शुक्रबार अर्थात् गएको फागुन १५ का अमेरिकाको ओभल अफिस ह्वाइट हाउसमा झण्डै ४५ मिनट चलेको दुइ पक्षीय बैठकमा आधाघण्टा समय सामान्य कूटनीतिक बिचार बिमर्शकोरुपमा चलेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनका जनता र सेनाको बहादुरीको चर्चा गरेका थिए । उनले अब यथाशिघ्र त्यहाँ युद्ध बिराम हुनुपर्ने कुरामा जोड दिदै चलिरहेको रक्तपात जनधनको सर्बनाश रोकिन पर्ने कुरा गरेका थिए ।
तर यूक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की शुरुदेखि नै आवेशको स्थितिमा रहेका थिए र रुससका राष्ट्रपति भ्लादिमिर पुटीनका बिरुद्ध अभद्र शब्दहरुको प्रयोग गरिरहेका थिए । बोल्ने क्रममा उनले पुटीनलाई ‘हत्यारा’ र ‘आतंकबादी’ को ट्याग नै लगाइदिएका थिए । त्यसले गर्दा डोनाल्ड ट्रम्पले केही असजिलो महसुश गरे तर उनले जेलेन्स्कीलाई भने रोकेनन् । ट्रम्पले कति कुरा मात्र राखे भने रुस र यूक्रेन दुबै पक्षका बीच घृणाको महोल छ । यस्तो स्थितिमा कूटनीति अघि बढाउन कठिन हुन्छ । त्यतिबेला त्यो ओभल अफिसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बिदेशमन्त्री मार्क रुबियो समेत र दुबै देशका अरु मन्त्री र अधिकारीहरु पनि उपस्थित रहेका थिए । त्यति तिबेला अमेरिकी उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई सम्झाउने कोशिश पनि गरे कि अमेरिकी राष्ट्रपति ट्रम्प यूक्रेनलाई अझ बर्बादी हुनबाट बचाउन कूटनीतिक कोशिश गरिरहेका छन् ।
हुन पनि यो अहिलेको प्रयास यस अघिको अमेरिकाको बाइडेन प्रशासनको भन्दा फरक थियो । तर त्यसप्रति सकारात्मक बनेर प्रस्तुत हुनको साटो जेलेन्स्की यूक्रेन युद्धको पूरै इतिहासको बयान गर्न थाले । त्यसको निष्कर्श के थियो भने रुस र त्यसका राष्ट्रपति पुटीनसँग कूटनीतिक बाटोको अबलम्बन गर्नु बेइमानी हो । यो कथन अमेरिकी ट्रम्प सरकारको यूक्रेन नीतिको प्रत्यक्ष आलोचना थियो । यसैबाट ह्वाइट हाउसमा अहिलेको चर्चित घमसान शुरु भएको थियो । जेलेन्स्कीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सका भनाइमाथि टीका–टिप्पणी जारी राखे । उनले जब अमेरिकी उपराष्ट्रपति भान्ससँग ठूलो आवाजमा नबोल भने त्यसपछि राष्ट्रपति ट्रम्पले आफ्नो रौद्ररुप जेलेन्स्कीलाई देखाउन शुरु गरे । उनले एकदमै तीखो भाषा प्रयोग गर्दै जेलेन्स्कीलाई भने कि ‘तपाईले लाखौंको जीवनसँग खेलबाड गर्दै हुनुहुन्छ । तपाई तेश्रो बिश्व युद्ध भटकाउन चाहनु हुन्छ’ । यस क्रममा ट्रम्प यति कुरामै मात्र रोकिएनन् । यूक्रेन आज कायम छ भने त्यसका पछाडि अमेरिकाले उसलाई अत्याधुनिक हतियार दिइरहेको छ । त्यसो नगरेर ती हतियारको आपूर्ति यूक्रेनलाई नभएको भए यूक्रेनलाई अमेरिकाले हतियार आपूर्ति नगरेको भए यूक्रेन दुइ सातामै पराजित हुने थियो । त्यो बाक युद्धको यस चरणमा पनि जेलेन्स्कीले स्थितिलाई सामान्य बनाउने कुनै प्रयत्न पनि गरेनन् । यस प्रकरणमा उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई आरोप लगाए कि उनी अमेरिका र राष्ट्रपतिको अपमान गरिरहेका छन् । 

Zelensky-Donald trump.jpg
हुन त कूटनीतिमा यस्ता अवसरहरु पनि आउने गर्दछन् भनिन्छ । अनि नेताहरुको परस्परमा बिभिन्न किसिमको नोकझोक पनि हुने गर्दछ । तर यस्तो कुरा कुनै बन्द कोठामा हुने कुराकानीको क्रममा मात्र हुने गर्दछ ।  तर ह्वाइट हाउस ओभल अफिसमा यी सबै कुरा बिश्वका सञ्चार माध्यमका सामुमा खुल्लारुपमा भयो । अन्त्यमा ट्रम्पले ख्याल ख्यालमा टिप्पणी पनि गरे कि  ‘टेलिभिजनका लागि राम्रो खबर बन्यो’ । तर त्यसपछि ट्रम्प प्रशासनले जेलेन्स्कीलाई पाठ सिकाउदै यूक्रेनको दुर्लभ पृथ्वी खनिजको खनन गर्नका लागि हुने भनिएको सम्झौता कार्यक्रम र त्यस सम्बन्धि पत्रकार सम्मेलन रद्द गरिदियो । यस क्रममा राष्ट्रपति ट्रम्पले प्रष्ट सन्देश दिएको अब अगाडि जेलेन्स्कीसँग तत्काल कुनै कुराकानी हुन सक्तैन । 
जेलेन्स्की अर्को कार्यक्रमका लागि ह्वाइट हाउसमा प्रतिक्षा गरेर बसिरहे । तर यस चर्काचर्कीको घटना क्रमपछि त्यहाँका अमेरिकी प्रोटोकल अधिकारीहरुले जेलेन्स्कीलाई तपाई जान सक्नु हुन्छ भनेर ह्वाइट हाउस छोड्न भने । यसरी बिश्वका सामु नराम्रोसँ लज्जित बनेर जेलेन्स्की त्यहाँबाट निस्के । तर कुरा यति मै सीमित रहेन । यो चालु यूक्रेन युद्ध जारी राख्न चाहिरहेका फ्रान्स, बृटेन र यूरोपेली देशहरुमाथि पनि ट्रम्पको प्रहार थियो र हो । हुन पनि अमेरिका तटस्थ बसेमा यूरोपेली देशहरुका लागि यो युद्ध लामो समयसम्म जारी राख्न सम्भव छैन भनिन्छ । जहाँसम्म अमेरिका–यूक्रेन सम्वन्धको प्रश्न छ जेलेन्स्की सत्ताबाट हटेर अर्को राष्ट्रपति पदासीन भए पछि मात्र शायद त्यो सम्भव होला ।