बुधबार, भाद्र ३ गते २०८३

भाङ्ग घोट्टा

फाल्गुण १६, २०८१ शुक्रबार
भाङ्ग घोट्टा


                         
महाशिवरात्री। यो महारात्र हो शिवजीको प्राकट्यको। हाम्रा पौराणिक कथाहरुमा तीन रात्रीको वर्णन छः कालरात्री, महारात्री र मोहरात्री । र यिनले क्रमैसंग देवीको प्राकट्य, शिवको आविर्भाव र कृष्णको जन्मको कथा बोकेका छन्।

शिवको आविर्भाव भएको यस पावन रात्रीपूर्व शिव बुटी खानेहरु शिवालयमा भेटिन्छन्। शिवालयहरुमा भाङ्गको घोट्टा बनाएर खान दिने चलन पनि छ। भारतबाट आउने नागा साधुहरू गाँजाको नशामा पशुपतिमा लट्ठ परेर बसेका भेटिन्छन्। काठमाडौंमा मुढा जोत्ने र ताप्ने चलन पनि छ। तर हाम्रो तराई मधेसतिर शिवरात्री मनाइँदैनथ्यो उसबेला । बरु फागुपूर्णिमा धूमधामका साथ मनाउने प्रचलन थियो। आज साथीभाइले भाङ् खाने कुरो गरेपछि पुरानो याद ताजा भएर आयो । मानसपटलमा आमा आउनुभयो।

कुरो उसबेलाको हो, हामी फागुको रङ्गले रातानीला भएका थियौँ । बाँसका पिचकरीले बाल्टिनमा घोलेका रङ्गले सबैका लुगा भिजेका हुन्थे तर पनि काठमाडौंतिर जस्तो बेटरीको कालो र मोबिल मान्छेका अनुहारमा दलिदिने चलन थिएन। उता अबिर केसरी भने बेस्मारी दल्थे। हाम्रा बा बजार गएर फर्किंदा राताम्य निलाम्य भएर फर्किनु हुन्थ्यो । माडेहरूले रङ्ग घोलेर राखेका टङ्कीमा बालाई ‘बुरा नमानो होली है’ भन्दै चोबलेका दृश्यको एकदुई पटकको साक्षी म पनि हुँ। गाउँको जीवन सरल थियो। घरमा ‘जोगिरा स र र र’ गाउनेहरू साना साना समूहमा ढोल बजाएर आउँथे। सबैले गाँउको पोखरीका डिलमा ठडिएका खजुरका बोटबाट निकालिएको ताडी खाएका हुन्थे । आखाँ लठ्ठ परेका हुन्थे तिनका। यदाकदा मोहबावाला अल्हा उदलको सवाई सुनाउने पनि आउँथे। सबैजसोले ताडी खाएका हुन्थे, कसैकसैले कलालको भट्टीको महुवाको रक्सी खाएका हुन्थे। तिनताका बियर उत्पादन हुँदैनथ्यो, मान्छेलाई बियरबारे थाहा नै थिएन। 

आमा गुड र मौलिसुप हालेर पकाएका राता राता मालपुवा चामल र केही पैसा नाङ्लोमा राखेर एउटा दियो बालेर आगनमा तिनका अगाडि राखिदिनु हुन्थ्यो। मालपुवा चैं टापटिप पार्थे र सामल पैसो लेर जान्थे। तिनीहरूले जोगिरा सररर नगाई होली नै आको जस्तो नलाग्ने।एकछिन पछि साइँलो भाइ उत्तम खै कताबाट हाम्राअगाडि आँगनमा देखा पर्यो, उ ठिङ्ङ उभियो र दक्षिणतिर लमतन्न परेर बसेको बडेमानको बुढियाचापबालीको बारीको क्षितिजपारि हेर्यो अनि उतातिर केही नबोली कुद्यो। बा र म हेर्याहेर्यै भयौं। बाले भन्नुभो भाङ् खाएछ।

आमाको अनुहार तम्तमाइलो थियो। साँझ पर्यो म मालपुवा खान भान्सा घरमा पसें, आमा धमाधम फलामे कीटको कराहीमा गुइँठाका डल्लाहरू तेलको भुटुन हालेर पन्यूले बेस्मारी चलाउँदै हुनुहुन्थ्यो। त्यो तन्यमता आहा कस्तो थियो । मैले सोधें, “आमा यो के गरेकोरु” “देख्दैनस्, तरकारी पकाउँदैछु।आमा मुसुक्क हाँस्नु भो। 

“बा, आमा त गुइँठा भुट्दै हुनुहुन्छ” मैले बाहिर आएर बालाई भनें। “ए, एस्लाई पनि भाङ् ख्वाएछन्।“ बा भन्दै हुनुहुन्थ्यो। त्यस राती हामीले मालपुवामै रात काट्यौं।  म झल्झली सम्झिरहेको छु, आमाको त्यो उज्यालो अनुहारमा भाङ्गको नशाले लठ्ठ परेका बेला आउने मुस्कान कति शोभायमान थियो । त्यसबेला पनि पुत्र प्रेमले स्निग्ध बलेको त्यो अनुहार कहिले काँही सपनामा पनि आउँछ ।

मान्छे सुते। त्यो दक्षिणतिर लमतन्न परेर बसेको बडेमानको बुढियाचापबालीको बारीको पश्चिममा युगदेखि लड्न र भाँच्चिन नमानेर तेर्सो परेर अडिएर ठडिएको अम्बाको बोट थियो। बिहानको चिसो बतासले  धेरैका भाङ्गका नशा ओर्लिसकेका थिए। हिजो कथामा के भो कसैलाई थाहा थिएन। त्यस अम्बाको तेर्सो परेर बसेको मूलस्तम्भमा दुई तिघ्रा दुईतिर हल्लाएर, धोती जति चैं माथिल्ला हाँगामा बेरेर छिमेकी ठुल्दाइ ‘घोडा हट्हट्’ गर्दै अम्बाको बोट कुदाउँदै थिए। बोट वस्तुतस् त्यहीं थियो, तर ठुल्दाइ निकै पर पुगिसकेका थिए। मलाई नजिकै जान लाज लाग्यो, कसैले उनलाई सोधेछ, “ के गर्या ठुले?” “देख्नुभएन, घोडा कुदाको नि।“

भाङगको नशामा घोडा कुदाउनुको आनन्द कुदाउनेलाई मात्र थाहा हुन्छ। आनन्द नितान्त मनोगत छ। उत्तमलाई मात्र थाहा होला उ के पाउन दक्खिनतिर कुदेको थियो। यो दुनियाँ भाङ्गको नशामा लठ्ठ छ। सबै एकोहोरिएका छन्। भोलिको चिन्ता कसैलाई छैन। चिन्तै भएपनि त्यसलाई रोक्ने हुति नभएपछि चिन्ता लिनुको अर्थ  रहेन। सबै कुदेका छन् । आआफ्ना लक्ष्य लिएर, बाटाहरू फरक फरक छन्। मान्छेहरू भाङ्ले छाडेपछि झस्कन्छन् उसबेला ढिला भैसकेको हुन्छ।

फेब्रुअरी २६, २०२५। महाशिवरात्रि। (पोखरेल अन्तर्राष्ट्रिय बहुभाषिक कवि तथा साहित्यकार हुनुहुन्छ।)