नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिना अवधिको समीक्षा गर्दै नीतिगत व्यवस्था गरेकाे हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षामार्फत ०.१० प्रतिशतले घटाइ एक प्रतिशत विन्दुले कायम गरेको छ । यसअघि असल कर्जाको नोक्सानी व्यवस्था दर १.१० रहेकोमा रहेको थियो । राष्ट्रबैंकको यस कदमले बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा केहि वृद्धि हुने देखिन्छ ।
समीक्षामार्फत राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत कायम गरेको छ । असल कर्जाको विद्यमान नोक्सानी व्यवस्था दर घटेको छ ।
त्यसैगरी मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६।५ प्रतिशतमा यथावत राख्नुका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । हालसम्म लघुवित्तको कर्जाको ब्याजदरमा सीमा निर्धारण गर्दै आएको छ ।
यस्तै मौद्रिक नीतिको समिक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । त्यसैगरी नन् डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पूँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने भएको छ ।
सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।
नेपालपत्र संवाददाता