लोकनारायण सुबेदी
माक्र्सबादी क्रान्तिकारी रुसी महिला नेतृ नाझेज्दा क्रुप्स्काया रुसको महान अक्टोबर समाजबादी क्रान्तिका नेता लेनिनकी जीवन साथी सहयोद्धा मात्रै थिइनन् त्यसभन्दा अझ बढी उनी सही अर्थमा एक सच्चा बोल्शेभिक क्रान्तिकारी महिला नेतृ थिइन् । त्यसैले उनी १९१७ को बोल्शेभिक क्रान्तिका अग्रणी सेनानीहरुमा त्यति बेलै सामेल भएकी थिइन जतिबेला लेनिन र उनको पिढीका यूवा क्रान्तिकारीहरु समूह–समूह बनाएर मजदुर र बिद्यार्थीहरुका बीच निरन्तर काम गर्ने गर्दथे ।
वास्तवमा क्रुप्स्काया त्यतिबेलै लेनिनको सम्पर्कमा आएकी थिइन् जतिबेला १८९७ मा लेनिनको गिरफ्तारीको केही समय पछि उनलाई पनि गिरफ्तार गरिएको थियो । पक्रिएको केही समय पछि नै जार शासकले लेनिनलाई साइबेरिया निष्काशन गर्ने सजाय सुनायो । त्यसै समयमै लेनिनले क्रुप्स्कायालाई एउटा पत्र लेखेर बिबाहको प्रस्ताव गरेका थिए । लेनिनि र क्रुप्स्कायको बिबाह भयो । जारकालीन नियम अन्तरगत लेनिनकी पत्नी बनिसकेपछि क्रुप्स्कायालाई पनि साइबेरिया पठाइएको थियो ।
रुसको १९०५ को असफल क्रान्ति पछि जार पुलिसको दमनबाट बच्नका लागि लेनिन बिदेश लागे । नादेज्दा क्रुप्स्काया पनि उनीसँगै गइन् । त्यहाँ नेतृत्वका कामरेडहरुसँग पार्टी निर्माण र क्रान्तिको योजनाका लागि पनि सहभागी बन्नुकासाथ साथै क्रुप्स्काया यूरोपको महिला आन्दोलनमा पनि सक्रिय सदस्य रहिन् । अनि रोजा लग्जेम्बर्ग, क्लारा जेटकिन, अलेक्सान्द्रा कोलोन्ताई, इमेसा आर्मा जस्ता अग्रणी महिला नेताहरुसँग रुसको मात्रै होइन पूरै यूरोपको महिला आन्दोलनको लागि समेत क्रुप्स्कायाले महत्वपूर्ण योगदान दिइन् ।

महान अक्टोबर समाजवादी क्रान्तिपछिका निकै कठिन दिनहरुमा हर राजनीतिक संघर्षमा क्रुप्स्कायाले सही अडान लिदै संघर्षमा सहभागी भइरहिन् । क्रान्तिपछि कृषिको सामुहिकीकरणको प्रश्नलाई लिएर ट्रट्स्की,बुखारिन, जिनोभिए आदि नेताहरुको गलत लाइनको उनले बिरोध गरिन् र स्तालिनका सही नीतिहरुको दृढ समर्थन गरिन् ।
त्यतिबेला रुसमा आनातोली लूनाचास्र्की शिक्षा बिभागको कमिशार थिए भने क्रुप्स्काया शिक्षा बिभागको उप कमिसार थिइन् । त्यसबेला नादेज्दा क्रुप्स्कायाले यस बिषयमा महत्वपूर्ण सैद्धान्तिक योगदान दिइन् कि समाजबादी समाजमा प्रारम्भिक शिक्षा के कस्तो हुुनु पर्दछ र पोलिटेक्निकल शिक्षाको स्वरुप के कस्तो हुनुु पर्दछ ! अनि महिला मुक्तिका सबावालहरुमा क्रुप्स्काया लगातार सक्रिय रहिन् र लेनिनबादी नीतिहरु लागु गर्ने पक्षमा दृढ रहिन् ।
लेनिन र क्रान्तिकारी दिनहरुका बारेमा जति पनि महत्वपूर्ण सँस्मरणहरु लेखिएका छन् तिमध्येमा नादेज्दा क्रुप्स्कायाका संस्मरणहरुमा आज पनि हामीलाई बोल्शेभिक क्रान्तिकारीहरुको फलामे दृढ अनुशासन र चरित्रको निर्माणका सबैभन्दा जीवन्त अभिब्यक्ति मिल्दछन् ।
क्रुप्स्कायाको १५६औं जन्म तिथि २६ फेबु्रअरी तथा १०४औ स्मृति दिवसमा २७ फेब्रुअरी १९३९को अवसर आजको महत्वपूर्ण दिनमा उहाँको सादर उच्चसम्मानकासाथ स्मरण गर्दै उनकै लेखनीबाट ‘कम्युनिष्ट नैतिकताका सम्बन्धमा लेनिनका बिचार’ का केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
लेनिनको सम्बन्ध त्यस पिढीसँग थियो जो पेशारेभ शेड्रिन, नेक्रासोभ, दोब्रोल्यूबोभ तथा चेर्नीशेब्स्कीको प्रभावमा उन्नाइसौं शताब्दीका सातौं दशकका क्रान्तिकारी जनवादी कबिहरुको प्रभावमा पालिएको वा परेको थियो । ‘ईस्क्रा’ (सेण्टपिट्सबर्गबाट १८५९ देखि लिएर १८७३ सम्म प्रकाशित हुने गरेको ब्यंग पत्रिका)काले पुराना अर्धदास ब्यवस्थाका अबशेषहका निर्माताहरुसँग ठट्टा गर्ने गर्दथे, दुराचारिता, दासबृत्ति, चाकडी, धोकाधडी, सतहीपना तथा हाकिमगिरीको तौरतरीकामाथि कठोर ब्यंग प्रहार गर्दथे । १९औ शताब्दीका सातौ दशकका लेखक भन्ने गर्दथे कि जीवनको अझ बढी निकटबाट अध्ययन गरिनु पर्दछ र पुरानो सामन्ती ब्यवस्थाका अबशेषहरुलाई खोलेर सामुमा राखिदिनु पर्दछ । लेनिन आफ्नो प्रारम्भिक जीवनदेखि नै सतही, गफ लडाउने कुरालाई समयको ब्यर्थ बर्बादी, सामाजिक हितबाट पारिबारिक जीवनलाई अलग्गै राख्ने जस्ता कुरालाई मन पराउँदैनथे ।
वास्तवमा महिलाहरुलाई खेलबाडको बस्तु सरह या मनोरञ्जको बस्तु मान्ने, या आज्ञाकारिणी दासकोरुपमा प्रस्तुत गर्ने जस्ता कुराहरुप्रति लेनिन धेरै घृणा गर्दथे ।त्यस प्रकारको जीवनसँग उनलाई घृणा लाग्दथ्यो जसमा कुटीलता र अबसरबादिता रहेको हुन्थ्यो ।चेर्नीशेब्स्कीको उपन्यास ‘के गर्ने’सँग इलिचलाई बिशेष प्रेम थियो, शेड्रिनको तीब्र ब्यंग उनलाई धेरै मन पर्दथ्यो, ‘इस्क्रा’ का कबिहरुलाई उनले धेरै चाहन्थे । तिनका बिभिन्न कबिताहरु उनलाई यादै पनि रहेको हुन्थ्यो । नेक्रासोभसँग त उनी प्रेम नै गर्दथे ।
धेरै बर्षसम्म भ्लादिमिर इलिचले जर्मनी, स्वीटजरल्याण्ड, इंगल्याण्ड र फ्रान्समा प्रबासी भएर बस्नु परेको थियो । उनी मजदुरहरुको सभामा जाने गर्दथे र मजदुरहरुको जीवन कसरी चलिरहेको छ त्यसबारे गहिरो गरी अध्ययन अनुसन्धान गर्ने गर्दथे र के बुझ्रन कोशिश गर्दथे भने आफ्ना घर परिबारमा उनीहरु के कसरी बसोबासो गर्ने गर्दछन् । उनीहरुले छुट्टीको समय घुमघाम गरेर वा कसरी बिताउँदछन् भन्ने कुरा पनि हेर्दथे ।
परदेशमा हामीहरु बडो कठिन र गरीबीको स्थितिमा रहने गर्दथ्यौं । धेरैजसो हामीहरु सस्तो कोठामा बस्ने गर्दथ्यौं जहाँ बिभिन्न किसिका मानिसहरु रहने गर्दथे । हामी बिभिन्न किसिमका घरमालिकहरुकोमा बस्थ्यौ र सस्ता होटेलहरुमा खाना खाने गर्दथ्यौं । लेनिनलाई पेरिस(फ्रान्स)का त्यस्ता मनोरञ्जन चल्ने घर(कहवाघर) धेरै मन पर्दथ्यो । त्यहाँ गाना गाउनेहरुले आफ्ना जनबादी गीतहरुबाट पूजीवादी प्रजातन्त्र तथा दैनिक दिनचर्या जीन्दगीका बिभिन्न पक्षको तीब्र आलोचना गर्ने गर्दथे । मोण्टेगसका गीतहरु लेनिनलार्य बिशेषरुपमा मन पर्दथ्यो । ती गायक एक जना कम्युनार्ड( पेरिस कम्युनमा भाग लिएका ब्यक्ति)का छोरा थिए । मूल शहरी क्षेत्रको बाहिरी किनारामा रहने गरेका मानिसहरुको जीन्दगीका बारेमा उनले राम्रो कबिता लेख्ने गर्दथे । एकदिन बेलुकीपखको एउटा भोजमा इलिच लेनिनले ती कबि मोण्टेगसलाई भेटे । अनि त उनीहरुले क्रान्ति, मजदुर आन्दोलन तथा सामाजका बारेमा आधारात बित्दासम्म कुराकानी गर्दै रहे । समाजबादले कस्तो किसिमले एउटा नयाँ जीवनको सृष्टि गर्ने हो अनि जीवनको समाजबादी पद्धति के हो जस्ता बिषयहरुमा उनीहरु अबेरसम्म कुराकानी गर्दै रहन्थे ।