राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंका सहायक प्रशासन सेवा ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम सञ्चालन गरिरहेको हो ।
उनीहरु लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका हुन् ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले वाणिज्य बैंक प्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरुले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने जनाए ।
विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै बैंकिङ्ग क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनिकरण गरी कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा बरिष्ठ सहायह ९७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
नेपालपत्र संवाददाता