काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल गएका छन । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँड समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरे । नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।