एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष ९सीआईटी, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा राखेको छ ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र निफ्राको १० लाख कित्ता गरी कुल ११ लाख ५९ हजार ६० कित्ता सेयर बिक्रीमा राखेकाे हाे।
बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २७३ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १६५ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ ।
सेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिने जनाएकाे छ ।
नेपालपत्र संवाददाता