काठमाण्डाै । स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएकाे छ । अभियानले १ करोड नागरिकलाई समेट्ने लक्ष्य लिएकाे छ। निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका अभियान गर्न लागिएकाे मन्त्रालयले जनाएकाे छ । त्यसका लागि फागुन १ गतेबाट एक महिने परीक्षण शुरू गर्न लागिएकाे हाे ।
नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचार गराउने मन्त्री पाैडेलले जनाएका छन् । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका रहेका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने भनाइ मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीकाे छ । मन्त्रालयले यो सेवा निःशुल्क दिने बताएको छ ।
मन्त्रालयले समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेकाे हाे। पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको रहेको छ।
नेपालपत्र संवाददाता