आइतबार, आश्विन १८ गते २०८३

१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई क्यान्सरविरुद्धको खोप अभियान शुरू


माघ २२, २०८१ मंगलबार
१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई क्यान्सरविरुद्धको खोप अभियान शुरू

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान आजबाट शुरू भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसर पारेर किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुरूवात गरेका हुन् । 

बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै अभियान शुरू गरिएको हो । 

सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको तथ्यांक छ ।