शनिबार, आश्विन १७ गते २०८३

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ३.७ र कर्जामा ५.२ प्रतिशतको वृद्धि


माघ २१, २०८१ सोमबार
बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ३.७ र कर्जामा ५.२ प्रतिशतको वृद्धि

 

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड अर्थात ३.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित २०८१ पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. ३ खर्ब ७७ अर्ब ७ करोड अर्थात ६.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ जबकि २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. १ खर्ब ९२ अर्ब ६४ करोडले बढेको थियो। २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वार्षिक बिन्दुगत आधारमा ७.० प्रतिशतले बढेको छ ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । 

यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेकोकर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।

पहिलाे ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको छ ।