शनिबार, आश्विन १७ गते २०८३

निर्याततर्फको आँकडामा केहि सुधार भएपनि व्यापार घाटा बढ्दो


माघ २१, २०८१ सोमबार
निर्याततर्फको आँकडामा केहि सुधार भएपनि व्यापार घाटा बढ्दो

काठमाण्डौ । मुलुकबाट हुने निर्यातको आँकडामा केहि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो आ.व.को पहिलो ६ महिनाको अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी भइ ७४ अर्ब ९६ करोड रहेको थियो । 

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

सोही अवधिमा कुल वस्तु आयातमा भने ७.१ प्रतिशतले वृद्धि भई रु. ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो भने कुल ७ अर्ब ६८ अर्ब १६ करोडको आयात भएको थियो । गत वर्षहरुमा आयातमा गरिएको कडाइ फुकुवा भएसँगै वस्तु आयातमा वृद्धि देखिएको हो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ । 

यता कुल वस्तु व्यापार घाटामा भने ४.४ प्रतिशतले वृद्धि भई रु. ७२३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो ।