चालु आर्थिक बर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित देशको आर्थिक तथा वित्तीय स्थितिले सो मात्रामा विप्रेषण आप्रवाह भएको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर रु.८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।
यस अवधिमा चालु खाता रु.१ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।
नेपालपत्र संवाददाता