
-इन्द्रनारायण सुवेदी
यो माटोमा रगत जसको पोखिएको छ आज
राखी चोखो अटल महिमा उच्च स्वाधीन ताज
छाडी सारा गुन मुलुकले मोड अर्को लिँदै छ
हाँसी मर्ने शहिद अहिले देशले बिसिँदै छ ।१।
बोकी यौटा अमुक दलको स्वार्थको निम्ति झन्डा
ढुङ्गा हान्दै सडकतिर जो गर्छ नाङ्गो वितण्डा
मर्दा नामाङ्कन शहिदको हारमा देखिँदै छ
हाँसी मर्ने शहिद अहिले देशले बिर्सिँदै छ ।२।
मर्छन् कोही अपगति भई पाल्न आफ्ना जहान
जोहो गर्दै नगद रुपियाँ भोलिको खानपान
सच्चा त्यागी जन सपुतको मार्ग नै छेकिँदै छ
हाँसी मर्ने शहिद अहिले देशले बिर्सिँदै छ ।३।
जो झुक्दैनन् रण समरमा नित्य खाएर मार
जो बोक्दै छन् कठिनसँग यो देशको बोझ भार
त्यस्ता योद्धा अटल युगका दूर पन्साइँदै छ
हाँसी मर्ने सहिद अहिले देशले बिर्सिँदै छ ।४।
छन् निर्माता अमर जसले प्राण आफ्नो चढाए
गोली निल्दै पलपल यही देशको गीत गाए
गाथा त्यस्तो युगजनित त्यो स्वच्छता मेटिँदै छ
हाँसी मर्ने शहिद अहिले देशले बिर्सिंदै छ ।५।
-------------------------------------------
(लेखनस्थल प्रतिभा निकुञ्ज)