राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक ८३ जना र अधिकृत स्तरका ६ जना गरी जम्मा ८९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफुले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
उनले विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने उल्लेख गरे । कार्र्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक ८३ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
नेपालपत्र संवाददाता