जीवन बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
पछिल्लो केहि समययता पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको बढ्दै गएको हो । चालु आर्थिक वर्षको ६ महिनामा मात्र सबै जीवन बीमा कम्पनीहरूको गरेर ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ५४ हजार ४१४ वटा बीमा पोलिसी वापत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।
यस अवधिमा सबैभन्दा बढी एलआईसी नेपालको बीमा पोलिसी सरेण्डर भएको छ । पुष मसान्तसम्ममा १३ हजार ९६८ वटा बीमा पोलिसी वापत दुई अर्ब ३८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।
दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा यस अवधिसम्मा १२ हजार २४१ वटा बीमा पोलिसी वापत दुई अर्ब दुई करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। अन्य कम्पनीहरूको पोलिसी सरेण्डर तुलनात्मक रूपमा कम रहेको छ ।
नेपालपत्र संवाददाता