आइतबार, आश्विन १८ गते २०८३

कर्जा दुरुपयोग गरेपछि राष्ट्र बैंकद्वारा ७ बैंक र ८ फाइनान्सलाइ कारवाही


माघ १०, २०८१ बिहीबार
कर्जा दुरुपयोग गरेपछि राष्ट्र बैंकद्वारा ७ बैंक र ८ फाइनान्सलाइ कारवाही

 

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले १५ वित्तीय संस्थालाइ कर्जा दुरुपयोग गरेकोमा कारवाही गरेको छ । विभिन्न प्रकृतिका कर्जा प्रवाहमा दुरूपयोग भएको निष्कर्ष सहित ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको हो । 

पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ती वित्तीय संस्थाका सीईओलाई राष्ट्र बैंकले कारवाही गरेको हो । 

कोभिड १९ को समयमा अर्थतन्त्र पुनर्उत्थान गर्ने भन्दै सरकारले सहुलियतपूर्ण कर्जा र राष्ट्र बैंकले पुनर्कर्जा सुविधा दिएको थियो। उक्त कर्जाको दुरुपयोग भएको भन्दै प्रश्न उठेपछि सरकारले स्वतन्त्र परामर्शदाता नियुक्त गरी छानबिन अगाडि बढाएको थियो।

स्वतन्त्र परामर्शदाताले बुझाएको प्रतिवेदनअनुसार लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामनासेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।