शनिबार, आश्विन १७ गते २०८३

छ महिनामा ८७ अर्बको पेट्रोलियम आयात, उठ्यो ३७ अर्ब राजश्व


माघ १०, २०८१ बिहीबार
छ महिनामा ८७ अर्बको पेट्रोलियम आयात, उठ्यो ३७ अर्ब राजश्व

 

पर्सा । वीरगञ्ज नाकाबाट  रु. ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबर पेट्रोलियम पदार्थ आयात भएको छ ।  चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो नाकाबाट उक्त मुल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । उक्त रकम बराबरको आयात हुँदा बीरगञ्ज भन्सारले रु. ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा रु. ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयात भएकोमा सो बाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको हो । सो अवधिमा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । 

त्यसैगरी रु. आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर एटिएफ आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ । 

अघिल्लो आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट बीरगञ्ज भन्सारले रु. ३२ अर्ब ९५ करोड ४१ लाख ४६ हजार राजस्व सङ्कलन गरेको थियो ।