नेपालको कुल गार्हस्थ उत्पादन (जीडिपी)मा कोशी प्रदेशले १५.८४ प्रतिशत योगदान गरेको छ । गएको आर्थिक वर्ष २०८०।८१ मा मुलुकको जीडिपी ५७ खर्ब ५ अर्ब रहेकोमा कोशी प्रदेशले मात्रै ९ खर्ब ३ अर्ब योगदान दिएको हो ।
जीडिपीमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.३६ प्रतिशत, लुम्बिनी प्रदेशको १४.२६ प्रतिशत, मधेश प्रदेशको १३.१२ प्रतिशत, गण्डकी प्रदेशको ९.०६ प्रतिशत, सुदूरपश्चिमको ४.२८ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ७.०९ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार कोशी प्रदेशमा कृषि क्षेत्रबाट ३२.८ प्रतिशत उद्योग क्षेत्रको १६.३२ र सेवा क्षेत्रको योगदान ५०.८८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वृद्धिदर २.१३ रहेको थियो । आयातमा हिस्सा १३.५३ प्रतिशत र निर्यातमा ३६.४५ प्रतिशत हिस्सा रहेको छ ।
कोशी प्रदेशको विभिन्न कृषि बाली उत्पादन हुने गरेको मध्ये धान प्रमुख रहेको छ । त्यसपछि मकै, गहुँ, कोदो, जौ र फापर रहेका छन् ।
कोशी प्रदेशले मुलुकको विद्युतीकरणमा समेत योगदान दिएको देखिन्छ । कुल जडित उत्पादन क्षमताका आधारमा कोशी प्रदेशले ६५५ मेगावाट विद्युत उत्पादन गर्दछ त्यसमध्ये सोलुखुम्बु जिल्लाले सबैभन्दा धेरै २४५.४, त्यसपछि इलाम जिल्लाले १२१.४७ र ताप्लेजुङले १०३.४ मेगावाट योगदान दिएका छन् ।

नेपालपत्र संवाददाता