काठमाडौं । आज भएको सर्वोच्च अदालतको आदेश पछि महिला अधिकारकर्मी रुवी खानलाई अन्ततः प्रहरीले रिहा गरेको छ । गएको शुक्रबार मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
त्यस रिट सम्वन्धमा फैसला गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत प्रष्ट आदेश दिएको बताइएको छ । बाँके जिल्लाका २ महिलाको सन्देहास्पद हत्याको विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौंसम्म १९ दिन पैदल हिडेर आएकी खान सहितको टोलीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ परेका अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन । प्रहरीले खानको पुरानो मुद्दामा पक्राउ गरेको जनाउदै आएको थियो । त्यो मुद्दामा पहिलाई खानको पक्षमा फैसला भइसकेको फैसलाको प्रति समेत बोकेर यो न्याय माग्न आएका महिला टोलीलाई हतोत्साहित गर्न रचिएको झूटो कुरा हो भन्दै रुवी खानको रिहा नभएसम्म संघर्षबाट नफर्किने र न्यायको खोजी गर्ने पछि नपर्ने कुरा उक्त आन्दोलनरत टोलीले बताउँदै आएको थियो ।