नयाँ बिहान
मलाई थाहा छ,
यो अन्धकार सधैं रहने छैन,
यो मौनता भित्रै कुनै क्रान्तिको गर्जन छ,
यो दुःखको भारीले उब्जाएको चर्को प्यास,
हाम्रो सपना सिंच्न तयार छ।
हेर,
पाखुरीले खनेको माटोले गीत गाइरहेछ,
रगतले लेखिएको इतिहास बोलिरहेछ,
हाम्रो आँसुले जलाएका जुनकिरीहरू
अब सूर्य बन्ने तयारीमा छन्।
नसा-नसामा बलिदानको आगो सल्केको छ,
कसैको अन्यायले नतमस्तक बनाउने छैन,
हामी उठ्नेछौं—
सिर्जना र परिवर्तनको पहाड उचाल्दै।
यो हाम्रो समय हो,
हामी हिजोका जरा काटेर
भोलिका बीउ रोप्न आएका हौं।
हाम्रो पाइला अब रोकिने छैन,
किनभने यो यात्रा सधैं अघि बढ्नकै लागि हो।
आओ,
नयाँ बिहानलाई स्वागत गरौं,
जहाँ प्रत्येक श्रमको सम्मान हुनेछ,
जहाँ सबैको आवाज सुन्ने कान हुनेछ।
त्यो दुनियाँ अब हामीले आफैं निर्माण गर्नेछौं।
परिवर्तनको हुंकार
तिमीले ठड्याएका पर्खालहरूले
स्वतन्त्र आकाशलाई छेक्न सक्दैनन्।
तिमीले कोरेका रेखाहरूले
आँधीको बाटो मोड्न सक्दैनन्।
यो समय हो, हुंकारको।
जर्जर विश्वास र थिचोमिचोलाई
चूर्ण गर्ने युग हो यो।
खुन र पसिनाले सिंचित माटोबाट
नयाँ क्रान्तिका बिरुवाहरू
फूट्न थालेका छन्।
ए तिम्रो सिंहासनमा
गर्वले बसेका शासक हो!
अब तिम्रा शब्दहरू खिया लागेका छन्,
तिम्रा आदेशहरू पत्थरजस्ता भारी।
हेर, श्रमिकको हातमा छुन लागेको छ
गगन चुम्ने भविश्य।
पर्खालहरू ढल्दैछन्,
गर्जन बढ्दैछ।
पुराना जंजीरहरू टुक्रिंदैछन्,
आगो बनेर उभिएका छन्
जमिनमै दबाइएका ती पाइलाहरू।
यो सृजना हो,
यो संघर्ष हो,
यो प्रलय होइन—
नयाँ सृष्टिको पहिलो धुन हो।
हामी बदल्ने छौं
यो सडेको समय,
र लेख्ने छौं नयाँ कथा,
जहाँ समानताको सूर्य उदाउनेछ।
आउ, साथी हो!
यो हुंकार तिम्रो पनि हो।
यो लडाइँ हाम्रो पनि हो।