विदेश गएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिएको छ । त्यससँगै विदेशी मुद्राको पलायन पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको ५ महिना अवधिमा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ४१ करोड बराबरको खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो ।
गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३।१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो ।
नेपालपत्र संवाददाता