शनिबार, आश्विन १७ गते २०८३

साना तथा मझौला संस्थालाइ आइपीओ खोल्न अब सहज, सेबोनले जारी गर्‍यो नियमावली


माघ ३, २०८१ बिहीबार
साना तथा मझौला संस्थालाइ आइपीओ खोल्न अब सहज, सेबोनले जारी गर्‍यो नियमावली

अब साना तथा मझौला संगठित संस्था (एसएमइ) हरूलाइ धितोपत्र बजारमा प्रवेश गर्न सहज हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेर लागू गरेसँगै धितोपत्र बजारमा उनीहरूले सहज प्रवेश पाउने छन् । 

बोर्डले बिहीबारबाट उक्त नियमावली लागु भएको जानकारी गराएको छ । बोर्डका अनुसार अब लगानीकर्ताले एसएमइजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो ।

एसएमईहरूले जारी पूँजीको आधारमा ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ। आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ। दुवैले खरिद गरेको सेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ ।

सेबोनले चैत २०७९ मा मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको भएपनि ९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले यो नियमावली स्वीकृत गरेको हो । नियमावलीमा रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्ने उल्लेख छ। रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ।