नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० सम्पन्न भएकोे छ ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित उक्त कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाबीच कार्यक्रम भएको हो ।
यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४ लाख नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको थियो । उपविजेताको रुपमा मेल्ट डाउनलाई रु. २ लाख र खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड वापत एक लाख रुपैया प्राप्त गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै, विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । प्रमुख अतिथि प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।
एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले कार्यक्रमलाई कुशल नेतृत्वद्वारा सञ्चालन गरेका थिए । उनको नेतृत्वमा एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० ले नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा प्रशंसित भएको जनाए ।
अन्तिम चरणसम्म पुग्न सफल स्टार्टअपहरूमा डीएल अपलोड, मेल्ट डाउन, खेतीपाती अर्गानिक्स, ज्ञान बजार, ई–कागजपत्र, माच २० अर्बिटल्स र स्र्माटपालिक रहेका थिए ।
नेपालपत्र संवाददाता