शुक्रबार, कार्तिक ७ गते २०८३

जाडो शीत ठिही बढ्यो दिनदिनै झन् ठप्प छन् जीवन


पौष २४, २०८१ बुधबार
जाडो शीत ठिही बढ्यो दिनदिनै झन् ठप्प छन् जीवन

शिशिर आलाप   

(शार्दूलविक्रीडित)

आयो धुम्म बनेर बादल घना आकाश ढाक्यो सब
ठन्डाको छ प्रकोप माघ महिना बोकेर आयो अब
देखिन्छन् सुनसान निर्जन सबै छन् स्तब्ध पाखा बन
जाडो शीत ठिही बढ्यो दिनदिनै झन् ठप्प छन् जीवन।१।
धारामा जल छैनझैँ छ हिउँको लठ्ठी बनी झर्दछ
ढाकी शैल शिखा चिसो शिशिरले सेतै भुवा छर्दछ
उर्लिन्नन् खहरे नदी जलधि नै निष्प्राणझैँ शान्त छन् 
प्राणी कीट चरा लुके सब कता बेचैन विभ्रान्त छन् ।२।

kuhiro.jpg
लुक्छन् वादलभित्र माथि नभमा श्री सूर्यनारायण  
फाट्दा वादल हेर्दछन् भुवन यो सम्झेर एकै क्षण
आऊन् लाग्छ छिटै यता भुवनमा बोकेर न्यानो रवि
घेरा हाल्दछ मेघले तर त्यहीँ ढाकेर कालो छवि ।३।
छेडी पस्दछ रोमकूप मुटुमा बोकेर हावा ठिही
छामी कान घुँडा र रुग्ण तनमा बेजोड मुक्का दिई
त्यो बिर्साउँछ उग्र ग्रीष्म ऋतुकाे आगो बलेको क्षण
हुन्छन् हैकमवाज यो शिशिरका उद्दण्डका लक्षण ।४।
तातो वस्त्र र खानपान नहुने मर्छन् विनाकालमा
रोगी जीर्ण बुढाबुढी जति सबै छन् नित्य बेहालमा
कैले फिर्छ भनी वसन्त दुनियाँ पर्खेर बस्छन् अरू
कैयौँ वृक्ष लता मुना र पिपिरा लाखौँँ सुकेका तरु ।५।
================================