आज हवाईजहाज, रेडियो र अरु साधन बनेर राज्यका सीमानाहरु नाघी मान्छेहरूलाई नजिकमा ल्याउन थालेको जमानामा जाती र पन्थ हेरेर हामीले अलग बस्नु हुँदैन.....: जयपृथ्वी बहादुर सिंह
बझाङ्का तत्कालीन राजा बिक्रमसिंह तथा जंगबहादुर राणाकी जेठी छोरी रुद्र कुमारीका दुई छोरामध्येका जेठा जयपृथ्वीबहादुर सिंह (वि.सं.१९३४–१९९७) त्यो जमानाका मानव अधिकारवादी, स्वतन्त्रतावादी,विश्वशान्तिमा समर्पित, लेखक तथा समाजसेवी महापुरुष हुनुहुन्थ्यो ।
देव शम्शेर ४ महिना प्रधानमन्त्री हुँदा स्थापित आजको दैनिक गोरखापत्र (त्योबेला साप्ताहिक) का संस्थापक सम्पादक (वि.सं.१९५८) मा उहाँलाई नै नियुक्त गरियो । उहाँले चन्द्र शम्शेरकी एक्ली छोरी खगेश्वरी राणालाई विहे गरेकोले ती धूर्त र सर्वशक्तिमान राणा शासकका ज्वाईँ त हुनुभयो । तर ससुरासँग उहाँको कुरै मिल्दैनथ्यो । सुधारवादी देव शम्शेरसँग आत्मीयता र हिमचिम बढी थियो। चन्द्र शम्शेरलाई यो एकदमै मन नपरेर ज्वाईँबिरुद्ध भित्रभित्रै मुर्मुरिन्थे ।
चन्द्र शम्शेरले ज्वाईँ जयपृथ्वीलाई तत्कालीन भारदारी अड्डामा मीरसुब्बा (आजको प्रधानन्यायाधीशसरह) पदमा नियुक्त गरेका थिए, तर त्यहाँ पनि उहाँले ससुराको भावनाअनुरुप काम नगरेर नियम र नैतिकताको बाटो लिन थाल्नुभयो । चिढिएका चन्द्र शम्शेरले राजा त्रिभुवनकी आमाको एकजना भान्से बाहुनको जग्गा दर्तासम्बन्धी किचलोमा भारदारी अड्डामा परेको मुद्दामा भान्सेको पक्षमा जिताउन उहाँलाई भनेका थिए, तर उहाँले नियम जे छ त्यसैमा जान थालेको निहुँमा चन्द्र शम्शेरले उहाँलाई देश छोडेर जान दबाब दिए ।

जयपृथ्वी बझाङ् गएर भारतको नैनितालतिर लाग्नुभयो । यता पत्नीले ‘पतिदेव जहाँ हुनुहुन्छ, म पनि त्यतै जान्छु’ भनेपछि चन्द्रशम्शेरले उनलाई पहिले बझाङ् पठाई दिए । त्यसपछि नैनिताल नै पुग्नुभयो र उहाँहरूको त्यसपछिको बसाई बेंग्लोरमा भयो ।
पत्नी खगेश्वरीको मातृहृदयले सन्तान बनाउने माग गरिरहेको थियो । तर उहाँले, “नेपालजस्तो अपराधी मुलुकमा सन्तान जन्माएर अर्को अपराध म आफ्नो शिरमाथि राख्दैन” भनी निःसन्तान जीवन बिताउनु भयो । माथि उल्लेखित उहाँको भनाई ‘तत्व प्रशंसा’ पुस्तकमा बहाई धर्म खतरा हो वा होइन भन्ने सन्दर्भमा लेख्नुभएको हो।
बझाङ्को चैनपुरमा जन्मिनु भएका जयपृथ्वीको शिक्षा ५ वर्षदेखि नै मावली जङ्गबहादुरको निवास ‘थापाथली दरबार’ मा चल्नेगरेको दरबार स्कूलमा शुरु भयो र सो स्कूल रानीपोखरी निकट सरेपछि त्यहीँ भयो । उहाँले कलकत्ताबाट वि.स.१९५१ मा मेट्रिक पास गर्नुभयो ।
उहाँले बझाङ्मा हाईस्कूल, आयुर्वेद उपचार केन्द्र स्थापना गर्नुभयो, बाटो, पुल आदि बनाउनु भयो । जग्गा कमाई गरिदिनेलाई मोही हक दिनुपर्ने प्रयास गर्नुभयो । बैंग्लोर बसाईमा पनि उहाँले ‘मानवता’ नामक पत्रिका चलाउनु भयो। जेपी इन्स्टिच्युट स्थापना गर्नुभयो । अक्टुबर १९३५ मा इटलीले इथियोपियामा आक्रमण गरी धेरैलाई घाईते बनाएपछि इथियोपिया र मोरक्को पुगेर युद्धपीडितको सेवा गरेको र मानवतावादी भाषण गरेको विरोधमा उहाँ इटालीको बन्दी हुनुभयो । भारतको स्वतन्त्रता संग्राममा लाग्दा ब्रिटिशहरूको बन्दी हुनुभयो ।
सन् १९१३ मा उहाँको मानवतावादी पुस्तक ‘तत्व प्रशंसा’ प्रकाशित भएको थियो । नेपाली व्याकरणको पहिलो पुस्तक लेख्ने उहाँ नै हुनुहुन्थ्यो । उहाँका कान्छोभाई देवीजङ्गका नाती (रामजंगका छोरा) देवीजंगले नेपाली काँग्रेसको देशब्यापी सशस्त्र कारवाहीकै समयमा राजा महेन्द्रबिरुद्ध विद्रोह गर्दा मार्माको हिमलेकमा सेनाबाट मारिनु भयो ।
_______________________
स्रोत : मीनबहादुर सिंहका अतिरिक्त आफ्नो टिपोट
चन्द्रमणि गाैतम