शनिबार, आश्विन १७ गते २०८३

पर्यटक आगमन १४ प्रतिशतले बढ्यो, २०२४ मा भित्रिए ११ लाख ४७ हजार


पौष १६, २०८१ मंगलबार
पर्यटक आगमन १४ प्रतिशतले बढ्यो, २०२४ मा भित्रिए ११ लाख ४७ हजार

 

सन् २०२४ भर मुलुकमा ११ लाख ४७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको आज बिहानसम्मको तथ्याङ्कअनुसार कुल ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको बताए । 

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । 

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । 

नेपाल प्रिमियर लिग, विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको जनाइएको छ ।