आइतबार, आश्विन १८ गते २०८३

आजदेखि ३ दिन मध्यपुर महोत्सव


पौष १२, २०८१ शुक्रबार
आजदेखि ३ दिन मध्यपुर महोत्सव

 

मध्यपुर थिमि नगरपालिकाको आयोजना र प्रायोजनमा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु भएको छ। 

नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उदेश्यले मेला आयोजना गरिएको जनाए । 

स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै ती समयमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य महोत्सवले राखेको छ।

महोत्सवका कार्यक्रमहरू शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन भइरहेका छन्। महोत्सवमा तीन सय ४७ स्टल मध्ये स्थानीय कला, संस्कृति, परम्परा, र हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रदर्शन रहेका छन् ।  २५ प्रकारका सांस्कृतिक नाच, परम्परागत नाच, अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन रहेका छन् ।

बाजागाजाका प्रदर्शनीस् धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजनलगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन गरिनेछ। त्यसैगरी नेवारी भेषभूषा र परम्परागत सामग्री प्रदर्शनस् नेवारी संस्कार र भेषभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनी गरिनेछ।

त्यस्तै अन्य प्रदर्शनहरूहरूमा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन प्रदर्शन, तथा खानेकुरा ५० र पुस्तक प्रदर्शनीका ४ स्टल रहनेछन्।

यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो। साथै, वः महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, र भजन गायनजस्ता कार्यक्रम हुँदै आएको छ । नगरपालिकाले महोत्सवलाई जीवन्त र दिगो पर्यटनमुखी बनाउन स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गरिरहेको जनाएको छ।