शनिबार, आश्विन १७ गते २०८३

माथिल्लो तामाकोशी आयोजनाबाट पुस १० भित्र विद्युत् उत्पादन सुचारु हुने


मंसिर २०, २०८१ बिहीबार
माथिल्लो तामाकोशी आयोजनाबाट पुस १० भित्र विद्युत् उत्पादन सुचारु हुने

 

काठमाडौं । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन सुचारु गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सोही अनुसार मर्मतसम्भार तालिका तय गरिएको प्राधिकरणले जनाएको छ । 

गत असोज ११ र १२ गतेको लगातार वर्षापछिको बाढीले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका हेडवर्क्समा ठुलो क्षति गरेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष भवन, बालुवा थिग्य्राउने पोखरी र बाँधबाट पोखरीसम्म पानी पुर्‍याउने भूमिगत नहरमा ठुलो क्षति पुगेको थियो । 

दुई वटा पोखरीमध्ये बायाँतर्फको मर्मतसम्भार आगामी पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । यसका लागि आंशिक रूपमा क्षति पुगेको पोखरीको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने भएको छ । यसै गरी कलभर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ‘ग्राउटिङ’ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइने भएको छ । 

दायाँतर्फको अर्को पोखरी मर्मत र हाल सतहमा रहेको नियन्त्रण कक्षलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्राधिकरणको तयारी छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मत सकिएको छ । आयोजनाको प्रवर्धक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लि। का सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।