आइतबार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान


मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली   चीन भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । टोली स्थानीय समयअनुसार साँझ ६ः१० बजे टोली चीनको राजधानी बेइजिङ पुग्नेछ । भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता छ । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् ।