आइतबार, आश्विन १८ गते २०८३
#उपनिर्वाचन२०८१

उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत खस्यो


मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा प्रारम्भिक विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगको भनाइ छ ।

उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो।

एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका थिए।

मतदान कार्य समाप्त भएर मतपेटिका सुरक्षित रूपमा सङ्‍कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।