शनिबार, आश्विन १७ गते २०८३

वर्ल्ड लिंकले भित्र्यायो विदेशी साझेदार, फिनफण्डबाट १ करोड युरो लगानी


मंसिर १३, २०८१ बिहीबार
वर्ल्ड लिंकले भित्र्यायो विदेशी साझेदार, फिनफण्डबाट १ करोड युरो लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने वर्ल्डलिंकले जनाएको छ । नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित रहेको र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता भएको भन्दै वर्ल्डलिंकले यसका लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने जनाएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरुलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू बिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौं।’

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तिब्र गतिको र थप विश्वसनिय बनाउने लक्ष्य राखेको जनाएको छ। डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको बिस्तारले वर्ल्डलिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने विश्वास दुबै पक्षको छ ।