शुक्रबार, कार्तिक ७ गते २०८३

सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने

मंसिर १२, २०८१ बुधबार
सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने

सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको  छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्न लागेको हो । 

विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने सरकारी ऋणपत्र नै वैदेशिक रोजगार बचतपत्र हो । यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा उसको परिवार सदस्य (बुबा, आमा, श्रीमती, श्रीमान, छोरा र छोरी) ले मात्र खरिद गर्न पाउने कार्यलयले जनाएको छ ।

यस बचतपत्र वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । अर्थात कुनै पनि बैंकमा रकम मुद्दती निक्षेपको भन्दा धेरै ब्याज यस बचतपत्रमा पाइने देखिन्छ । हाल बैंकको औषत निक्षेप व्याजदर ६ प्रतिशत मात्र रहेको छ । ब्याज ६र६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ पौष १६ गते एकमुष्ठ रूपमा पाइने छ ।  यो बचतपत्र कम्तीमा १० हजार रुपैयाँको आवेदन दिनु पर्नेछ । बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।

यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ । यसका साथै कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाब्याज रकम प्राप्त गर्न सकिने छ । यो बचतपत्र खरिद गर्नका लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सकिने छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता