शनिबार, आश्विन १७ गते २०८३

सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउन सरकारले विशेष योजना ल्याउनुपर्छ: अध्यक्ष डा. केसी


मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउन सरकारले विशेष योजना ल्याउनुपर्छ: अध्यक्ष डा. केसी

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताएका छन् ।  

सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम डा. केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना  र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्र सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताए ।

उनले भने, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रुपमा मात्रै सञ्चालन भइरहेको छ त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् । जति नेपालबाट जाँदा आबद्ध भएका थिए ति सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् । रिन्यू गर्नेको संख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी  छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रुपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा केसीले जोड छ। कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि  लगानी गर्न सक्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए । विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा उनको जोड थियो ।