काठमाडाैं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । २०८० पौष महिनामामा तत्कालिन अध्यक्ष रमेश कुमार हमाल आफ्नो कार्यकाल पुरा गरेर बाहिरिएसँगै करिब ११ महिना धितोपत्र बोर्ड नेतृत्वविहिन बनेको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी नेतृत्वको धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले आइतबार श्रेष्ठसहित नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष कृष्णकुमार कार्की र बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही समितिको सिफारिसका आधारमा सोमबारको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ काठमाडौं विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका हुन् भने श्रेष्ठसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठले स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने उनले तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा १० दश वर्ष अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
यस्तै, श्रेष्ठले तीन वर्ष नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा सदस्य समेत बनेका काम गरेका थिए । यस्तै, सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा प्रत्यक्ष जिम्मेवारी निभाएर काम गरेको अनुभव रहेको छ । श्रेष्ठ र उनको परिवारको विभिन्न हाइड्रोपावरहरुमा लगानी समेत रहेको देखिन्छ।
नेपालपत्र संवाददाता