आइतबार, आश्विन १८ गते २०८३

उपनिर्वाचनका लागि विभिन्न ४१ पदमा ३७६ जना उम्मेदवार, ३ स्थानमा निर्विरोध


मंसिर ६, २०८१ बिहीबार
उपनिर्वाचनका लागि विभिन्न ४१ पदमा ३७६ जना उम्मेदवार, ३ स्थानमा निर्विरोध

 

मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गराएका छैनन्। यस अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रम अनुसार मंसीर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न सक्नेछन्। त्यसपति मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार गर्न निषेध अवधि तोकिएको छ । निर्वाचनका दिन विहान ७:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने हुँदा मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदाताहरूमा आयोगले आह्वान गरेको छ ।