शुक्रबार, कार्तिक ७ गते २०८३

शक्तिको अभावमा विश्वास काम लाग्दैन । कुनै काम गर्नका लागि विश्वास र शक्ति दुवै अनिवार्य हुन्छन्.... : बल्लभभाइ पटेल


मंसिर १, २०८१ शनिबार
शक्तिको अभावमा विश्वास काम लाग्दैन । कुनै काम गर्नका लागि विश्वास र शक्ति दुवै अनिवार्य हुन्छन्.... : बल्लभभाइ पटेल

सरदार बल्लभ भाई पटेल (१८७५–१९५०) भारतको स्वतन्त्रता सेनानी र स्वतन्त्र भारतको पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । बारडोली सत्याग्रहको सफल नेतृत्व गरेका पटेललाई त्यहाँका महिलाहरूले ‘सरदार’ को उपाधी दिएका हुन् । बृटिशहरूले भारत छोडेपछि शक्ति प्रयोग गरेर भए पनि विशाल भारतको निर्माण गर्नुपर्छ भन्ने मान्यताका हुन् यिनी । यिनको नियत त नेपाललाई पनि भारतमा बिलय गराउनुपर्छ भन्ने थियो । नेहरुको कारणले नेपाल बच्यो। त्यसकारण यिनलाई स्वाधीन नेपालका हितैषी मित्र मान्न सकिन्न ।
नेहरु र पटेलका बीच आकाश–पातालको अन्तर थियो। नेहरू विश्व–नेता हुने र समाजवादी प्रधानमन्त्री हुन इच्छुक थिए भने पटेलको इच्छा विशाल भारतको विस्तारमा केन्द्रित थियो । स्वतन्त्र भारतभित्रका ५६२ वटा ठूला–साना राज्य–रजौटाको एकीकरणमा उनको ठूलो भूमिका थियो । उनले १९५० मा प्र.म. नेहरुलाई नेपालको बारेमा लेखेको पत्रप्रति नेहरु प्रसन्न थिएनन् । सो पत्रमा नेपाललाई पनि भारतमा विलय गराउने उनको नियत यस भनाईबाट पुष्टि हुन्छ,
“महाराजाधिराज (त्रिभुवन) को भारत सवारी भएपछि नेपालमा कुनै वैधानिक सरकारको अस्तित्व नै नरहेकोले भारतको सुरक्षाको निमित्त नेपालको उत्ति नै महत्वछ, जति चीनको सुरक्षाका निम्ति त्यसका तटका सहस्रौँ मील टाढास्थित कोरिया तथा फारमोसाको महत्व छ । नेपालमा पनि हैदरबादसरि भारतीयहरूमा राणाशाहीको अमानुषित अत्याचार भैरहेका छन् । त्यसलाई रोक्न तथा अराजकता बन्द गर्नलाई भारतीय सेना पठाएर नेपालमा अधिकार गरिलिनु पर्छ र काश्मिर तथा हैदराबादझैँ त्यसलाई पनि भारतीय संघको स्वतन्त्र सदस्य मानिलिनु पर्छ” (राजनीतिक दर्पण, भाग १, २०५८ को पुनर्मुद्रण, पृ. ८५) ।
भारतीय राजा–रजौटाहरूलाई उनी भन्दथे “कुवाको भ्यागुत्तो भएर नबस, महासागरमा आओ ।” काश्मिर, जुनागढ र हैदराबाद राज्यबाहेक सबैलाई यिनले भारतमा बिलय गराए ।
यिनले स्वतन्त्र भारतको व्यवस्था र अवस्थाको बारेमा सन् १९३१ मै यस्तो भाषण गरेका थिए, राजमोहन गान्धीले लेखेको जीवनी ‘पटेल : ए लाईफ’ को पृ. ९२ मा उनले यसो भनेको पाइयो, “स्वतन्त्र भारतमा कोही पनि भोकै मर्ने छैन । यसको अन्न निर्यात गरिने छैन । यसले कपडा पनि आयात गर्ने छैन । यसका नेताहरूले न त विदेशी भाषा प्रयोग गर्नेछन्, न त समुद्रभन्दा सात हजार फुट दूरदराजका स्थानमा शासन नै गर्छन् । यसको सैन्य खर्च धेरै हुनेछैन । यसका सेनाले आफ्ना जनता र अन्य भूमिलाई स्खलित गर्नेछैन । यसका राम्रो वेतन पाउने अधिकारीहरूले न्यूनवैतनिक कर्मचारीको भन्दा ज्यादा कमाई गर्ने छैनन् । यस देशमा न्याय महँगो हुनेछैन र कठिनाई पनि हुने छैन।” के आजको भारत पटेलको सपना जस्तै छ त ?

Statue sardar.jpg
३१ अक्टुबर २०१३ को दिन पटेलको १३७ औँ जन्मजयन्तीको अवसरमा गुजरातका तत्कालीन मूख्यमन्त्री नरेन्द्र मोदीले गुजरातको नर्मदा जिल्लामा 'सरदार सरोबर' मा पटेलको विशाल स्मारक बनाउन शिलान्यास गरेका थिए। ६ वर्ष अघि कार्तिक १४ गते (३१ अक्टुबर २०१८) पटेल जयन्तीमा सो स्मारकको उद्घाटन प्रधानमन्त्री मोदीले गरे । ‘एकताको मूर्ती’ (स्ट्याच्यु अफ युनिटी) नाम दिइएको यो संसारको सबभन्दा अग्लो मूर्ती मानिन्छ, जो शाङ्घाए (चीन) को एक कम्पनीले बनाएको हो। जसको उचाई १८० मिटर छ जसको लागत २५ अर्ब भा.रू. बताइएको छ ।